भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

1846

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलवार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ ।

मंगलवार बिहान जनाइए अनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरूको सख्या २ हजार २९३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २२ हजार ४५४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा मंगलवार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४६ हजारभन्दा बढी संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २३ हजार ४०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस संक्रमणबाट महराष्ट्रमा ८६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार ५४१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । यहाँ यस संक्रमणबाट भने ५१३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तामिलनाडूमा यसबाट ८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस संक्रमणबाट २ हजार भन्दा बढी निको भएका छन् भने यहाँका ५३ जनाको ज्यान गएको छ ।

दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ७३३ जना विरामी छन् । यहाँ ७३ जनाको ज्यान गएको सो मन्त्रालयले जनाएको छ । त्यसैगरी दिल्लीका संक्रमितमध्ये २ हजार १७३ जना निको भएका बताइएको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताको लागि लम्बाएको छ । भारतले शुक्रवार मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।