भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलँदै गएको छ। आइतबार थप चार जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या २७ पुगेको छ। संक्रमितको संख्या पनि १ हजार नाघेको छ।
बीबीसी हिन्दीले शुक्रबारसम्म मृतकको संख्या १९ रहेको उल्लेख गरेको थियो। तर, दुई दिनमा थप आठ जनाको मृत्यु भइसकेको छ भने झन्डै तीन सय नयाँ संक्रमित भेटिएका छन्।
भारतका २९ मध्ये अहिलेसम्म २२ राज्यका ७५ जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन्। महाराष्ट्र, कर्नाटक, केरल, दिल्ली र उत्तरप्रदेश सबैभन्दा बढी प्रभावित छन्।
सरकारले २१ दिने बन्दाबन्दी घोषणा गरेपछि विभिन्न शहरमा अलपत्र परेका मजदुरलाई शनिबार र आइतबार सम्बन्धित राज्यले यातायातको व्यवस्था गरेर घर फर्कन दिएको थियो। उत्तर प्रदेश सरकारले अन्य राज्यका मजदुरलाई घर फर्काउन शनिबार व्यवस्था गरेको बसहरुमा चढ्न लखनउमा हजारौँको भीड लागेको थियो।
दिल्लीको आनन्द विहार बस टर्मिनलमा शनिबार बस चढ्नका लागि करीब १५ हजार मान्छे त्यहाँ पुगेको दैनिक भास्करले जनाएको छ। आइतबार पनि त्यहाँ ५०० मान्छे जम्मा भएका थिए।
दिल्ली, गुजरात लगायत स्थानमा पनि मजदुरलाई फर्कन दिन बसको व्यवस्था गरिएको थियो। यस्ता सवारी साधन चढ्न तछाडमछाड भएपछि सरकारको आलोचना भएको थियो।
अन्य राज्यबाट उत्तर प्रदेश फर्किनेको संख्या पछिल्लो तीन दिनमा नै करीब डेढ लाख पुगिसकेको दैनिक भास्करले उल्लेख गरेको छ। मुख्यमन्त्री आदित्यनाथ योगीले ती सबैलाई क्वारेन्टिनमा पठाउने बताएका छन्।
महाराष्ट्र, दिल्ली, गुजरात लगायत ठाउँमा फसेका मजदुर पैदलै पनि घर फर्किरहेका छन्। यस्ता मजदुर दुई हजार किलोमिटरसम्मको पैदलयात्रामा निस्किएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
बन्दाबन्दीमा काम रोकिएपछि घर फर्कनेहरुको भीड सडकमा दिनहुँ देखिन्छ। मजदुरहरु धमाधम घर हिँडेपछि बन्दाबन्दी असफल भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।हिमालखबर