अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

1830

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.३ ओभरमा १ सय ५९ रनमा अल आउट भयो । पहिलो ओभरमै शीर्षक्रमका प्रमुख तीन ब्याट्सम्यान गुमाएको अस्ट्रेलियालाई ओपनर साम फनिङ्गले १ सय २७ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७५ रन जोड्दै इनिङ उकासेका थिए । लियाम स्कर्ट ३५ र प्याट्रिक रोवेले २१ रन जोडे । भारतीय बलरको उत्कृष्ट बलिङ सामु अस्ट्रेलियाका ८ खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतका कात्तिक त्यागिले ८ ओभरमा २४ रन खर्चेर ४ विकेट लिदै म्यान अफ द म्याच चुनिए । आकश सिंहले ३ र रबि विश्रोइले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । उसका ओपनर यशस्वी जैसवालले ८२ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । अथर्व आकोलेकर ५४ बलमा ५ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहे । रबि विश्रोइ ३० र सिद्धेश वीर २५ रनमा आउट भए । अस्ट्रेलियाका कोरी केली र टोड मर्फीले २-२ विकेट लिए ।

दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ ।