खगेन्द्र हमाल // कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्नका लागि चौकुने गाउँपालिकाले ‘एक घर एक साबुन’ कार्यक्रम शुरु गरेको छ ।
भारत लगायतका देशबाट आएका नागरिकसँग कोरोना भाइरस पनि आएको हुन सक्ने भन्दै गाउँपालिकाले पहिला साबुन पानीले राम्रोसँग हात धुनका लागि घरैपिच्छे साबुन वितरण कार्यक्रम शुरु गरेको हो । अध्यक्ष धीरबहादुर शाही, उपाध्यक्ष निर्मला रानाले शुरु गरेको कार्यक्रममा चौकुने गाउँपालिकाका १० वटै वडामा पुगेर साबुन वितरण गरिनेछ ।
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई हस्तान्तरण गरेका साबुन वडाले घर घरै पुगेर वितरण गर्नेछ । गाउँपालिकाका अध्यक्ष शाही आफैले साबुनका प्याकेट र साउण्ड सिस्टम गाडीमा राखेर ‘साबुन पानीले हात धोऔ, घरभित्रै बसौ, कोरोनाबाट बचौ’ भन्दै माइकिङ गरेर चौकुनेका १० वटै वडामा सचेतना कार्यक्रम समेत चलाइरहेका छन । यसअघि गाउँपालिकाले स्वास्थ्य संस्थामा साबुन, स्यानिटाइजर, पिपिई, ग्लोब्स लगायतका सुरक्षा सामग्री वितरण गरेको थियो ।
कोरोनाको संक्रमणबाट बच्न गाउँपालिकाले भारत तथा अन्य देशबाट आएकालाई कम्तीमा १५ दिन घरमै बस्न पनि आग्रह गरेको छ । नेपाल लकडाउन भएपछि भारत लगायतका देशबाट ३ सय ८८ जना चौकुने गाउँपालिकामा भित्रिएका छन ।