बीमाधारीको नाउँमा बिना जानकारीको बीमा ऋण सृजना

1155

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन एल आई सी नेपाल लिमिटेड शाखामा रकम जम्मा गरेको बीमाधारीको नाउँमा बिना जानकारीको बीमा ऋण सृजना गर्ने गरेको खुलेको छ ।

अभिकर्तामार्फत बीमा खोलेको बीमाधारीको रकम खातामा जम्मा नगरी सो रकमबाट शाखाका कर्मचारीले अर्कै व्यक्तिको नाउँमा बीमा खोलेर रकम जोखिममा पर्ने गरेको फेला परेपछि यस्तो कार्यको खुलासा भएको छ ।

५५ प्रतिशत एल आई सी अफ इण्डियाको शेयर पुँजीमा संचालित एल आईसी नेपाल लिमिटेडका कर्मचारीले कम्पनीलाइ पहिलो स्थानमा बनाउने होड़बाजीको कारण नयाँ बीमा लेखधारी र पुराना बीमा लेखधारीको रकम नुकसान गर्ने गरेको आरोप एक अभिकर्ताले लगाएका छन् । शाखाका कर्मचारीले अभिकर्ता एजेंटमार्फत चेक नगद लिएर त्यही व्यक्तिको सानो सानो रकम बराबरको नयाँ नयाँ बीमा लेख खोलेर संख्या बढाउने कार्य गर्दै आएको अभिकर्ता सत्येन्द्र पांडेयले बताए ।

सीता देवी खडकाबाट ऋण निवेदन, मूल बीमालेख, ऋण तमसुक, र अन्य सहमति पत्र केही नलिइ एलआईसीको नाममा ऋणको चेक तयार पारी सो बाट ४५ जना नयाँ बीमालेख जारी भएको समेत पाइएकोले खाताधारीहरुको रकम जोखिममा परेको छ ।

तत्कालीन शाखा प्रमुख विपिन कुमार साहले खाताधारीको रकम हिनामिना गरेको पांडेयको आरोप छ । रकम जोखिममा पर्ने अवस्था देखे पछि सत्येन्द्र पांडेयले बिना जानकारी जारी गरिएको बीमा ऋणको बारेमा कागजात माग गर्दा कम्पनीले अहिलेसम्म उपलब्ध गराउन नसकेको बताए ।

बीमा कम्पनीमा रकम जम्मा गरेका खाताधारीहरुले निवेदन दिएर रकम फिर्ता गर्न माग समेत गरेका छन् । रविता कुमारी साहले दिएको निवेदनमा ७० हजार नगद मध्ये ६७१३४ बरावरको बीमा लेख जारी भए पनि १२ जना मध्ये ८ जना प्रस्तावक आफूले प्रस्ताव गरेका बीमालेख धारी नभएकोले सो ८ जना रकम सहित बाउन्ड पेपर र सवा ब्याजसमेत उपलब्ध गराई दिन उल्लेख छ ।

त्यस्तै राजेश कुमार यादवले दिएको निवेदन पत्रमा जम्मा गरेको ७५ हजार रुपैयाँमा ७४७८२ रुपैयाँको बीमा जारी भए पनि १२ जनामध्ये ६ जना प्रस्तावक नरहेकाले सो ६ जनाको रकम ब्याजसहित बाउन्ड पेपर फिर्ता पाउन उल्लेख गरिएको छ ।

आनन्द कुमार महतो, मनीषा कुमारी यादव, विकेश राय यादव ,डेजी कुमारी शर्माले शाखा कार्यालयमा निवेदन दिएर प्रस्ताव नै नगरेको व्यक्तिको नाउँमा बीमालेख जारी गरिएकाले सोको रकम ब्याजसहित फिर्ता दिन माग गरेका छन् । गलत कार्यको विरोध गर्दा धम्कीसमेत दिने गरेको अभिकर्ता पांडेयले बताए । उनले छानबिनका लागि प्रदेश ,केन्द्रीय कार्यालयमासमेत निवेदन दिएको जनाएका छन् । यस सम्बन्धमा गौर शाखाका प्रमुखसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।