एजेन्सी- क्रोयसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी जाग्रेबमा थुप्रै घरहरु भत्किएको र सवारी साधनमा क्षति पुगेको जनाइएको छ। केही ठाउँमा आगलागीसमेत भएको अधिकारीहरुले जनाएका छन्।
भूकम्पलगत्तै त्यहाँको आगलागी एवम् विपत व्यवस्थापन क्षेत्रका कर्मचारीहरु राहत र उद्धारमा जुटेका छन्। भूकम्पमा एक १५ वर्षीय किशोर गम्भीर घाइते भएको र अन्य मानवीय हताहतीको विवरण आइनसकेको जनाइएको छ। जर्मनीको जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सेसले पश्चिम बालकान्स क्षेत्रलाई केन्द्रविन्दु बनाएर झण्डै ६ म्याग्नीच्युडको भूकम्पको गएको जनाएको छ। भूकम्पको धक्का १० सेकेन्डसम्म महशुस गरिएको थियो।
त्यहाँका आन्तरिक मन्त्री डाभोर बोजिनोभिकले ट्वीटरमार्फत एक सन्देश दिँदै नआत्तिन र सामाजिक दूरी कायम राख्न अपिल गरेका छन्। कोरोना भाइरससँग लडिरहेको युरोपेली देश क्रोयसियामा भूकम्पले अर्को समस्या निम्त्याएको हो। त्यहाँ हालसम्म २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।