रौतहट, २७ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले भारतीय नम्बर प्लेटको टेम्पु गुड्न माथि प्रतिबन्ध लगाउदा आक्रोशित बनेका भारतीय व्यवसायीहरु नेपाली नम्बरको गाडीहरु भारत तर्फ सोमवार विहानै देखि जान रोक लगाएको छ ।
मंसिर ३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलाश विरगंजले भारतीय तिन पाँग्रे टेम्पु यात्रुबाहकको रुपमा गौरमा गुडाउन माथि रोक लगाउने आदेश जारी गरेपनि नेपाल भारत विच रहेको मैत्रीपूर्ण सम्बन्ध तथा दुवै तर्फका जनताहरुलाई अप्ठ्यारो नपरुन भनेर स्थानीय प्रशासन कार्यान्वयन गर्न ढिलाई गरेपछि पुन ः नेपाली टेम्पु व्यवसायीहरु अदालतको अबहेलना रौतहट प्रशासनले गरेको भन्दै अदालत माथि दवाव बनाएपछि माघ २६ गतेबाट जिल्ला प्रशासन कार्यालय रौतहटले भारतीय नम्वर प्लेटको टेम्पु गौर प्रवेश गर्न प्रतिबन्ध लगाएको हो ।
प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय रौतहटले भारतीय नम्बरको तिन पाँग्रे टेम्पुलाई नेपाली भुमिमा आउन प्रतिबन्ध लगाउदा आक्रोशित बनेका भारतीय व्यवसायीहरु मोटरसाइकल, इरिक्सा, चारपाँग्रे नेपाली नम्वरको सवारीसाधनहरुलाई मितेरी पुलबाट नै फिर्ता पठाउदा नेपाली जनताहरु ठूलो मारमा परेका छन् ।
नेपालबाट भारत तर्फ किनमेल गर्न, उपचार गराउन, आफन्त भेट्न जाने हजारौं जनताहरु अनाहकमा अदालती निर्णयको शिकार बनेको गुनासो गौर नगरपालिका लगायत आवतजावत गर्ने बासिन्दाहरुले व्यक्त गरेको छ । २०६६ साल देखि भारतीय टेम्पुहरु यात्रहरुलाई लिएर निर्वाध रुपमा गौर सम्म आउने गरेको र नेपाली टेम्पुहरु वैरगनिया जाने गरेका थिए तर प्रतिबन्ध लागेपछि १ किलोमिटर सम्म यात्रुहरु सामानहरु टाउकोमा राखि जान बाध्य भएको गौरका युवा विक्रान्त नेपालले बताए ।
अधिकाँश नेपाली र भारतीय जनताहरुको घरायसी सम्बन्ध रहेको हुँदा उक्त सम्बन्ध माथि खलल पुर्याउने कार्य गरिएको ठहर गर्दै स्थानीय समाजसेवी एवं राजदेवी नगरपालिकाको सचेत युवा शम्भु सुप्रिमले बेटी रोटीको सम्बन्ध माथि आँच पुर्याउने खालको निर्णय गर्नु अघि एकपटक स्थलगत रुपमा अध्ययन गरेर मात्रै निर्णय लिदा राम्रो हुने थिए तर यसका विरुद्ध जनतहरु बाटोमा उत्रिए भने स्थानीय प्रशासनलाई नियन्त्रण गर्न गाह्रो हुने चेतावनी दिए ।
गौर बैरगनिया मितेरी पुल माथि नेपाली नम्वरको गाडी किन रोक्नु भएको प्रश्नको जवाफमा भारतीय टेम्पु व्यवसायी संघका सदस्य राहुल साहले १० बर्ष देखि टेम्पु व्यवसाय गरेर जिवकोपार्जन गर्दै आएको एक्कासी हाम्रो पेट माथि लात हान्ने कार्य नेपाल प्रशासनले गरेको हुँदा हामी पनि नेपाली गाडी भारतीय क्षेत्रमा जान नदिने अडान राखे । सिमामा तैनाथ एसएसबीले पनि हाम्रो मागलाई समर्थन गरेको हुँदा भारतीय क्षेत्रबाट कुनैपनि सामानहरु लैजान नदिने चेतावनी दिए ।
कतिपय नेपालीहरु सामानहरु लिएर आउदा खोसिएको गुनासो गर्दा समेत नेपाली प्रशासन कानमा तेल हालेर सुतेको नेपाली उपभोक्ताहरुले गुनासो गरे । पर्साको विरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मि मोटर्स प्रालीले नेपाली इरिक्साको आधिकारिक डिलर रहेको भारतीय टेम्पु बन्द भएपछि उुसको विजनेश राम्रो चल्ने भएको देखेर मंसिर ३ गते प्रालीको प्रोपराइटर अरुण कुश्वाहाले जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलाश विरगंजमा अन्तरिम आदेशको लागि रिट दायर गरेका थिए सोही रिटको आधारमा दुई देशका जनताहरु विच रहेको बेटी रोटीको सम्बन्धलाई विचार नगरी निर्णण गर्दा आजको अवस्था सृजना भएको गौरका समाजसेवी विक्रान्त नेपालले आरोप लगाए ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतीय सवारी साधनलाई यात्रु ओसार्न कुनैपनि अवस्थामा नदिने, अहिले यात्रुहरुलाई भईरहेको कठिनाईलाई कम गराउन भारतीय सुरक्षाकर्मी संग कुरा भएको बताए । केही व्यवसायीहरु मात्रै अवरुद्ध गरेकोले चाँडै भारतीय भुमि सम्म नेपाली सवारी साधन जाने व्यवस्थापन गरिने स्पष्ट पारे ।