एमसीसी सम्झौता निःसर्तरुपमा मुलुक र जनताको हितमा कार्यान्वयन गरेमा आफुहरुले विरोध नगर्ने

809

जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता निःसर्तरुपमा मुलुक र जनताको हितमा कार्यान्वयन गरेमा आफुहरुले विरोध नगर्ने बताएका छन् । शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । नेता प्रतिकले सशर्त कुनै पनि हालतमा स्विकार्य नरहेको भन्दै  खारेज नगरे कडा संघर्षमा जाने चेतावनी  दिए ।

एमसीसी सम्झौतामार्फत अमेरिकाले नेपाललाई आफ्नो सैनिक अखडा बनाई चीनलाई घेर्ने रणनीतिअनुसार भारतसँग मिलेर नेपाललाई हतियारको रुपमा प्रयोग गर्न लागेको प्रवक्ता कँडेलको आरोप छ । प्रवक्ता कँडेलले भने, ‘ठूला–ठूला लडाकु बख्तरबन्दका सामान ओसारपसार गर्न गुणस्तरीय सडकको आवश्यकता पर्छ, त्यसको लागि गुणस्तरीय सडक बनाउन लागेको हो, लडाकु विमानहरुलाई चार्ज गर्नको लागि विद्युत चाहिएको छ, यसको लागि भारतसँग मिलर अमेरिकाले चीनलाई घेरा हाल्ने उद्देश्यले यो सम्झौता गर्न लागेको हो ।’ प्रवक्ता कँडेलले भारत र चीनले मिचेको नेपालको भू–भाग  फिर्ता लिन र एमसीसी सम्झौता खारेज गनुपर्ने मागसहित ९ वाम दल विरोधमा उत्रिएको स्पष्ट पारे ।