काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय सवतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे हो । लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।