छोरीको बीमा रकम बढाएर ३ लाखसम्म

2074

जनकपुरधाम– प्रदेश दुई सरकारले सञ्चालन गरेको छोरी बिमामा विमा रकम बढाएको छ।

एक लाख रकमबाट शुरु भएको छोरी बिमालाई बढाएर ३ लाखसम्म पुर्‍याएको छ। मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशमा जन्मिने छोरीहरुलाई अब ३ लाखसम्मको बिमा हुने जानकारी दिएका छन्।

यसअघि १ लाखको बिमा मात्रै हुँदै आएकोमा आबज बसेको मन्त्रीपरिषदको बैठकबाट यो रकमलाई ३ लाखसम्म पुर्याउने निर्णय गरिएको मुख्यमन्त्री राउतले बताए।

वि.सं. २०७५ माघ १ गतेबाट शुरु गरिएको छोरी बिमा कार्यक्रमलाई अझै व्यवस्थित बनाउनका लागि यस प्रकारको निर्णय गरिएको मुख्यमन्त्री राउतको भनाइ छ।

उनले छोरी विमा कार्यक्रममा सहयोग पुर्याउनका लागि सबै पालिकालाई समेत अनुरोध गरे। यसअघि बिमा गराई सकेका छोरीहरुको बिमा समेत ३ लाखसम्मको हुने उनले जानकारी दिए।

प्रदेश सरकारको छोरी बिमा कार्यक्रम अन्तर्गत पछिल्लो वर्ष ७ हजार ४ सय ९१ छोरी विमा भइ सकेको छ भने माघ २ गतेदेखि प्रदेश सरकारले आयोजना गरेको छोरी विमा सप्ताह पछि अहिलेसम्ममा ८ हजार १७ जनाले छोरी विमा गराई सकेका छन्।

छोरी विमा सप्ताहपछि सबैभन्दा बढी सप्तरी जिल्लामा १ हजार ४ सय ८, सिरहा १ हजार १ सय २९, धनुषामा ६ सय ६९, महोत्तरी ८ सय ४६, सर्लाही १ हजार १ सय ७४, रौतहटमा ८ सय १८, बारामा १ हजार २ सय ३ र पर्सामा ७ सय ७१ छोरीहरुको विमा भएको छ। प्रदेश सरकारले छोरी विमाका लागि प्रभु बैंकसंग सम्झौता यस अघि नै गरि सकेको छ।

मन्त्रीपरिषदको बैठकले विमाको रकम बढाउनुका साथै अन्य दुई वटा निर्णय समेत गरेको छ। प्रदेश सरकारले जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई प्रदेश आयुर्विज्ञान प्रतिष्ठानको रुपान्तरण गर्ने निर्णय गरेको छ भने मधेश शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ।