रौतहटमा गोली हानाहान, १ घाइते

1798

रौतहट ।। रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।

रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति लगभग बार्ह बजेकाे करीबमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । तराईमा मधेसी नेसनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीयलाई भने प्रहरीले गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् ।

बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरी माथि फायरिङ गरेपछि जवाफी फायरिङ गरेको हो ।

प्रहरीको जवाफी फायरिङबाट अलीलाई गोली लागेको थियो । एक जनालई नियन्त्रणमा लिए पनि अन्य दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी गोली लागी घाइते चाँद फरार अभियुक्त हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा संगठित अपराध र आपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोगसम्बन्धी ३ र संगठित अपराध र आपराधिक लाभ १ वटा गरी छुट्टाछुट्टै ४ मुद्दा दर्ता भएको छ । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए ।