आमरण अनसन प्रमुख जिल्ला अधिकारीको सहमतिपछि अन्त्य

165

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ९ स्थित रामपुरखाप नाकामा चारपाङ्ग्रे सवारीसाधनलाई निर्वाध रुपमा आवागमन गर्न दिनुपर्ने माग गर्दै आमरण अनसन बसेका स्थानीय नागरिकहरुले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हिरालाल रेग्मीको मौखिक सहमतिपछि अनसन फिर्ता गरेका छन् ।
स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हक बुधवार विहानदेखि अनसनमा बसेका थिए । उनीहरुले रामपुरखाप नाकामा छोटी भन्सार कार्यालय स्थापना भएसँगै चारपाङ्ग्रे सवारीसाधनको सहज आवागमनमा आएको अवरोध हटाउन माग गरेका थिए । अनसनको खबर विभिन्न सञ्चारमाध्यममार्फत बाहिरिएपछि स्थानीय प्रशासनले विषयलाई गम्भीरतापूर्वक लिएको थियो ।
हिजो साँझ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा रहेको सुरक्षा निकायको टोली आन्दोलन स्थलमा पुगेर अनसनकारीसँग वार्ता ग¥यो । छलफलपछि प्रमुख जिल्ला अधिकारी रेग्मीले पूर्ववत् ढंगले चारपाङ्ग्रे सवारीसाधनलाई इन्ट्री गराएर आवागमन गर्न दिने मौखिक सहमति जनाए । उक्त सहमतिपछि अनसनकारीहरुले अनसन फिर्ता लिएका हुन् ।
अनसनकारीहरुले प्रशासनसँग आफ्नो माग पूरा भएकोमा सन्तोष व्यक्त गर्दै शान्तिपूर्ण तरिकाले अनसन अन्त्य गरेको बताएका छन् । उनीहरुले स्थानीय जनताको मागलाई सम्बोधन गरेर समस्या समाधान गरेको भन्दै प्रशासनलाई धन्यवाद दिएका छन् । आन्दोलनले स्थानीयस्तरमा नागरिक र प्रशासनबीच समन्वयको आवश्यकता देखाएको छ । सवारीसाधनको आवागमनमा आएको अवरोधले स्थानीय व्यापारी र सर्वसाधारणलाई ठूलो असहजता भएको थियो । अनसन फिर्तासँगै अब पुनः सवारीसाधनको सहज आवागमन हुने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले भविष्यमा समस्याहरु छलफल र संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय जनताले पनि सहकार्यको भावना देखाउँदै प्रशासनसँग सकारात्मक सम्वाद गर्न तयार रहेको जनाएका छन् ।

तराई टपबाट सभार गरिएको छ /