नगरपालिकामा लगाएको ताला खुल्यो

1393

रौतहट । रौतहटस्थित फतुवा विजयपुरका नगरप्रमुख र कर्मचारीबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगरप्रमुख गोपालप्रसाद यादवका अनुसार बढीमा १० दिनभित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने लिखित सहमतिको आधारमा ताला खोलिएको हो ।

गत बुुधवार शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकाभित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा तालाबन्दी गरेका थिए । तेस्रो नगरपरिषद नभएको बहाना बनाउँदै मेयर यादवले नगरक्षेत्र अन्तर्गतका शिक्षक, स्वास्थकर्मी, कृषि कर्मचारी तथा करार सेवामा रहेका कर्मचारीलाई गत साउन देखिको तलव उपलव्ध गराएका छैनन् ।

नगरपालिकाले ३ वटा मावि, ८ वटा निमावि, १९ वटा प्रावि र ५ वटा स्वास्थचौकी लगायतका अन्य कर्मचारीहरुको गत साउनदेखि तलब पाउन नसकेको भन्दै आक्रोशित कर्मचारीहरुले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए ।

नगरप्रमुख यादवका साथै प्रशासकीय अधिकृत जयचन्द्र साहले १० दिनभित्र सबैको तलब उपलब्ध गराउने लिखित सहमति गरेपछि ताला खोलिएको दुधिअवा माविका शिक्षक रञ्जनप्रसाद खरेलले बताए । फतुुवा बिजयपुरका मेयर यादवले तेस्रो नगरसभा समयमा हुन नसकेको कारण हालसम्म कर्मचारीहरुको रोकिएको तलव अगामी १० दिनभित्र निकासा गराउने प्रकृया आजैदेखी सुुरु भएको बताए ।