रौतहट — “आर्थिक विकास र उन्नतिको आधार : पूर्वाधार, कृषि, उद्यम र रोजगार” भन्ने मुल नाराका साथ परोहा नगरपालिकाको ९ औं नगरसभा मंगलबार लौकाहा स्थित निर्माणाधीन प्रशासकीय भवनमा सम्पन्न भएको छ। नगरप्रमुख तथा सभाध्यक्ष शेख वकिले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको आय–व्यय विवरण सार्वजनिक गरे।
कार्यक्रममा बोल्दै नगरप्रमुख वकिलले परोहा नगरपालिका प्रदेशमै व्यवस्थित नगरको रूपमा अगाडि बढिरहेको बताए। सबै राजनीतिक दलको सहकार्य र नागरिकको सक्रियताको कारण शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला, बालबालिका, समाजिक विकासलगायत क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनले बताए। प्रमुख अतिथि नेपाली कांग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहामा कुनै भेदभाव नगरी समान रूपमा विकास कार्य भइरहेको उल्लेख गरे। सामाजिक द्वन्द्वग्रस्त रहेको जिगडवा बेलविछवा गाउँ अहिले पूर्ण रूपमा शान्त भएको र विकास तीव्र गतिमा अघि बढेकोमा सन्तोष व्यक्त गरे।
नगर उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्ष र वडा सचिवहरू सबैले नगरसभाको सफलताको शुभकामना दिंदै परोहाको स्थापना कालदेखि देखाउँदै आएको अग्रगामी भूमिकाको चर्चा गरे। उनीहरूले आगामी दिनमा जनअपेक्षाअनुसारका योजनाहरू सञ्चालन गरी नगरवासीलाई आत्मनिर्भर बनाउन थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे।