लागुऔषध विरुद्ध चेतनामूलक प्रभातफेरी गौरमा सम्पन्न

52



रौतहट । स्वस्थ जीवन, स्वस्थ विचार लागुऔषध गरौं बहिष्कार सुखी नेपाली, समृद्ध नेपालको सपना र लागुऔषधमुक्त समाजको परिकल्पना जस्ता चेतनामूलक नारासहित रौतहटको सदरमुकाम गौरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा घण्टाघर चौकबाट सुरु भई सदरमुकामको विभिन्न भाग परिक्रमा गर्दै सम्पन्न भएको हो । कार्यक्रमको आयोजना जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको हो ।

प्रभातफेरीमा जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण तिवारी, जिल्ला प्रहरी कार्यालयका पदाधिकारीहरू, शस्त्र प्रहरी बलका पदाधिकारी, साथै सामाजिक संस्था आरडिसी नेपालका प्रतिनिधि धर्मेन्द्र साह, नेपाल प्रहरीका जवान, शस्त्र प्रहरी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, साथै सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमले लागुऔषधको प्रयोग विरुद्ध जनचेतना फैलाउने, सकारात्मक व्यवहार र सोच विकास गर्ने र नयाँ पुस्तालाई जिम्मेवार बनाउने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन् ।