रौतहट, असार १० – अदालतबाट दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतको फैसला कार्यान्वयन गर्न विशेष अभियान सञ्चालन गर्दै ती प्रतिवादीलाई खोजतलास गरी नियन्त्रणमा लिएको जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायका अनुसार पक्राउ परेकामध्ये केही लागुऔषध, बैंकिङ कसुर, जालसाजी, चोरी, ठगी, सवारी, अङ्गभङ्ग तथा कुटपिटजस्ता मुद्दामा सजाय भोग्नुपर्ने दोषीहरू हुन्।
डीएसपी रायका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका ईकाइहरूले फरार अभियुक्तहरूको खोजी अभियान तीव्र बनाएका थिए। कतिपय प्रतिवादीहरू आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
“फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गर्ने कार्यलाई नियमितरूपमा अगाडि बढाइनेछ,” डीएसपी रायले बताए। पक्राउ परेका सबै १३ जनालाई जिल्ला अदालत रौतहटमा पेश गरिएको छ।