रौतहट — गौर नगरपालिकाको १६औं नगर अधिवेशन सोमबार नगर कार्यपालिकाको कार्यालय परिसरमा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नगरप्रमुख शम्भु साहले गरे। सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका नगरप्रमुख साहले आफ्नो कार्यकाल (२०७९/८० देखि २०८१/८२) मा सम्पन्न विकास योजनाहरूको विस्तृत विवरण सार्वजनिक गर्दै नयाँ नीति तथा कार्यक्रम पनि प्रस्तुत गरे।
नगरप्रमुख साहले संघीय सरकारबाट प्राप्त अनुदानमा कटौती भए पनि नगरवासीप्रति गरिएको प्रतिबद्धता पूरा गर्दै विभिन्न क्षेत्रमा महत्वपूर्ण विकास कार्य सम्पन्न गरिएको उल्लेख गरे। घण्टाघर निर्माण, झुलुंगे पुल, कोल्ड स्टोर, सडक र नाला सुधार, स्वास्थ्य र शिक्षा क्षेत्रको विस्तार, कृषिको आधुनिकीकरण तथा किसानमुखी सेवा लगायतका कार्यहरू उल्लेख गरे।
उनले गौरलाई समुन्नत नगर बनाउने अभियानमा कुनै कसर बाँकी नराखिएको भन्दै सबै पक्षको साथ र सहयोग रहेमा आगामी दिनमा अझ प्रभावकारीरूपमा विकास योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
अधिवेशनमा नगरप्रमुखले युवासँग सम्बन्धित योजना, शिक्षा र खेलकुद, आधारभूत स्वास्थ्य, कृषि तथा पशुपालन, उद्यमशीलता, रोजगारी, पर्यटन, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार, खानेपानी, महिला र जेष्ठ नागरिक, सहकारी, न्याय र सुशासनजस्ता विषय समेटिएका नीति तथा कार्यक्रमहरू प्रस्तुत गरे।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँको अनुमानित आय–व्यय बजेट नगर प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष अर्जुन सिंहले उपप्रमुख शैल देवीको तर्फबाट प्रस्तुत गरे।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष र सदस्यहरू, नगरपालिका बोर्ड सदस्य, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र गौर नगरवासीको उल्लेखनीय उपस्थिति थियो। अधिवेशनमा वडा नं. ८ का वडाध्यक्ष जनार्दन साह अनुपस्थित रहेका थिए।