बृन्दावन नगरपालिकामा मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु

116

दिलिप पाण्डे रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बुधबार एक विशेष कार्यक्रमबीच गर्नु भएको हो ।

उद्घाटन समारोहको विशेष क्षणमा नगर प्रमुख कुर्मीले ब्याटिङ्ग गर्दै खेल प्रारम्भ गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले बोलिङ्ग गर्दै प्रतियोगिता उद्घाटन गर्न सहयोग गर्नुभएको थियो।

प्रतियोगिता वडा नं. ७ स्थित रुपा नेपाली माध्यमिक विद्यालयको खेलमैदानमा सुरु गरिएको हो । उद्घाटन खेल वडा नं. ७ र वडा नं. ९ का टिमबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगिताले नगरभित्रका युवाहरूको खेलकुद प्रतिभालाई उजागर गर्न, खेलप्रति रुचि बढाउन र आपसी सद्भाव अभिवृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास आयोजकको रहेको छ ।

बृन्दावन नगरपालिकाको आयोजनामा सञ्चालन भएको यस प्रतियोगितामा विभिन्न वडाका टिमहरूको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको अन्तिम खेल तथा पुरस्कार वितरण कार्यक्रम आगामी दिनमा भव्य रूपमा आयोजना गरिने योजना रहेको छ ।