रौतहट । प्रहरीको सक्रिय गस्ती टोलीले रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ५ मा अवैध रुपमा लुकाइछिपाई संचालन गरिएका ३ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी फेला पारी नष्ट गरेको छ।
भट्टीबाट ७ सय लिटर तयारी मदिरा, २ हजार ८ सय लिटर कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग हुने हण्डा ४ थान, डेक्ची ८ थान, ग्यास सिलिन्डर ४ थान, ग्यास चुलो ४ थान, प्लास्टिक ग्यालिन १४० थान, स्टिल र प्लास्टिक बाल्टिन गरी अन्य सामग्रीहरू समेत बरामद गरिएको छ।
घटनास्थलमा पुगेका प्रहरीले अबैध भट्टीहरू नष्ट गरे पनि भट्टीका संचालकहरू भने फरार भएका छन्। उनीहरूको खोजतलास भइरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए।
स्थानीय प्रशासनले अवैध मदिरा उत्पादनले समाजमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै यस्ता गतिविधिलाई कडाइका साथ रोक्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसबारे कुनै जानकारी वा सूचना भएमा प्रहरीले तुरुन्तै जानकारी गराउन अनुरोध गरेको छ।