स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै स्थानीयहरूले धर्ना दिँदै विरोध

751

रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै बुधबार स्थानीयहरूले धर्ना दिँदै विरोध जनाएका छन् ।

दुई दिनदेखि आन्दोलित बनेका स्थानीयहरूले बुधबार दिउँसो पनि नगरपालिकाको मुख्य गेटमै धर्ना दिइरहेका छन् । नगरपालिकाका प्रमुख वीरेन्द्र राय यादवले स्वास्थ्य शाखा संयोजक जियालाल राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको लागि मन्त्रालयमा सिफारिस गरेर पठाएका थिए ।

मन्त्रालयबाट यादवलाई निमित्तको जिम्मेवारी दिएपछि स्थानीयले नगरप्रमुख विरुद्ध नाराबाजी गरेका हुन् । यसअघि नगरपालिकाका शाखा अधिकृत प्रलभ कायस्थले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दैआएका थिए ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट संयोजक यादवको नाममा पत्र आएपछि स्थानीय आक्रोसित बनेका हुन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको घर माधव नारायण १ दीपहीमा नगरप्रमुख यादवको घर नजिकै पर्छ ।नगर प्रमुख यावदले भने केही मानिसले विरोध गरेर केही नहुने प्रतिक्रिया दिएका छन् । साथै यसमा अनियमितता नरहेको उनको भनाइ छ । ‘दुई/चार जनाले विरोध गरिहाल्छन् । मेरै सिफासिरमा यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिन मन्त्रालयले पत्र पठाएको हो,’ उनले भने, ‘पहिले शाखा अधिकृत थिए । अहिले स्वास्थ्यका संयोजक हाकिम भएको हो । यसमा अनियमितता गर्ने भन्ने कुरै आउँदैन,’ यादवले भने ।