दिलीप पाण्डे रौतहट । रौतहटको राजपुर नगरपालिका वडा नं. २ फतुहा महेशपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको राम जानकी मठको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि कम्पाउन्ड वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पर्यटन विकास कार्यालय गौरको पहिलो योजना अन्तर्गत उपभोक्ता समितिमार्फत २५ लाख रुपैयाँ लागतमा कम्पाउन्ड वाल, गेट, ग्रिल, फ्लोरिङ, पेन्टिङ जडानको काम भइरहेको छ । निर्माणाधीन कम्पाउन्ड वाल ८१.१० मिटर लम्बाइको हुनेछ जसले मठको सुरक्षा तथा सौन्दर्यीकरणमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
पर्यटन विकास कार्यालय गौर रौतहटको अधिकृत संजय कुमार मिश्रले यस निर्माण कार्यको अनुगमन गरेका छन् । निरीक्षणका क्रममा उनले निर्माण कार्यको गुणस्तर राम्रो रहेको प्रतिक्रिया दिएका छन् । मिश्रका अनुसार योजना स्थानीय धार्मिक स्थलहरूको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । राम जानकी मठको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्न योजना अघि बढाइएको हो । पर्यटन विकास कार्यालय गौरको पहिलो योजना अन्तर्गत २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । कुल बजेटमध्ये १ लाख रुपैयाँ आकस्मिक (कन्टिन्जेन्सी) खर्चका लागि छुट्याइएको छ । ५ प्रतिशत रकम स्थानीय उपभोक्ता समितिबाट व्यवस्था गरिएको छ । निर्माण कार्य उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा गुणस्तर कायम राख्दै अगाडि बढिरहेको छ ।राम जानकी मठको संरक्षण र विकासमा भएको कामप्रति स्थानीय बासिन्दाहरू उत्साहित देखिएका छन् । उनीहरूले निर्माण कार्य गुणस्तरीय रूपमा अघि बढिरहेको बताउँदै यसले मठमा आउने दर्शनार्थी तथा पर्यटकहरूको संख्यामा वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै, राजपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोनेलाल पडितले अनुगमनका क्रममा निर्माण कार्यको सराहना गरेका छन् । उनले निर्माणको गुणस्तर राम्रो रहेको र कुनै कमी नरहेको बताए । उनका अनुसार मठको संरक्षणले धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना मात्र होइन, स्थानीय समुदायलाई आर्थिक फाइदा पनि पुर्याउनेछ ।
राम जानकी मठ धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्थल भएकाले यसको संरक्षणले धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्ने विश्वास गरिएको छ । स्थानीयवासीहरूले मठमा आउने पर्यटकहरूका लागि उचित व्यवस्था मिलाइएमा यस क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुग्ने बताएका छन् । पर्यटन विकास कार्यालय गौरका अनुसार भविष्यमा पनि यस्ता धार्मिक स्थलहरूको संरक्षणका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिने छ । साथै स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि थप परियोजनाहरू अघि बढाइने जनाइएको छ ।
योजना पूरा भएपछि राम जानकी मठको सुरक्षा बढ्ने मात्र होइन यसको आकर्षण पनि वृद्धि हुने र यसले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।