दिलीप पाण्डे रौतहट । प्रेस मंच नेपाल रौतहट जिल्ला कार्य समितिको दोस्रो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । रौतहटको गौरस्थित होटल जी मार्टमा आयोजित अधिवेशनमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । अधिवेशनको अध्यक्षता प्रेस मंच नेपाल रौतहटका अध्यक्ष किशोरी यादवले गरेका थिए भने प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री योगेन्द्र राय यादव रहेका थिए ।
अधिवेशनमा प्रमुख अतिथि योगेन्द्र राय यादवले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नका लागि पत्रकारहरूको एकता आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष बन्दना झाले पत्रकार संगठनहरूको मजबुतीका लागि नयाँ पुस्तालाई अगाडि ल्याउनु पर्ने बताइन् । उनले भनिन् पत्रकारितामा नयाँ पुस्ताको सहभागिता बढाउनुपर्छ । संगठनलाई बलियो बनाउन कार्यसमिति विस्तार गर्दै जिम्मेवारी बाँडफाँड गर्न आवश्यक छ ।
प्रदेश सांसद शोभा साहले पत्रकारहरूको भूमिकाबारे चर्चा गर्दै निष्पक्ष र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको प्रमुख आधारस्तम्भ भएको बताइन् । उनले भनिन् पत्रकारिता समाजको ऐना हो । सत्य तथ्य उजागर गर्ने काम पत्रकारिताले गर्छ । त्यसैले पत्रकारहरूले निडर भएर काम गर्नुपर्छ ।
प्रेस मंच नेपालका केन्द्रीय सदस्य रविन्द्र साहले संगठनलाई अझै सशक्त बनाउन केन्द्र, प्रदेश तथा जिल्ला स्तरमा जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने संगठन बलियो बनाउन सबै तहका नेताहरू एकजुट हुनुपर्छ । प्रेस स्वतन्त्रता कायम राख्न सकिएन भने लोकतन्त्र कमजोर हुन्छ । अधिवेशनले किशोरी यादवलाई पुनः अध्यक्ष चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । अध्यक्ष किशोरी यादव,उपाध्यक्ष दीपक कुमार,महिला उपाध्यक्ष रश्मि पटेल,सचिव चन्दन महतो, सह–सचिव दिलीप कुमार पाण्डेय,महिला सह–सचिव प्रियंका सिंह,सदस्यहरू शेख समीर आलम, प्रदीप यादव, राकेश पटेल, अरबिन्द यादव लगायतका सदस्य रहेको छ ।
कार्यक्रममा प्रेस मंच नेपालका कार्यवाहक अध्यक्ष मनोज यादव, विभिन्न पत्रकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । अधिवेशनमा संगठन विस्तार, पत्रकारहरूको हकअधिकार संरक्षण, प्रेस स्वतन्त्रता र निडर पत्रकारिताको आवश्यकताबारे विस्तृत छलफल भएको थियो । कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष किशोरी यादवले संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउँदै भने प्रेस मंच नेपालले सधैं निष्पक्ष र निर्भीक पत्रकारिताको पक्षपोषण गर्दै आएको छ । आगामी दिनमा हामी अझ सक्रिय भएर अगाडि बढ्नेछौं । अधिवेशनले संगठनलाई थप क्रियाशील बनाउने विश्वास गरिएको छ ।
Home मुख्य समाचार प्रेस मंच नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, किशोरी यादव पुनः अध्यक्ष...