गौर राइस मिल्सको जग्गा बिक्रीको विरोधमा प्रदर्शन

98

दिलीप पाण्डे रौतहट । रौतहट सदरमुकाम गौरस्थित गौर राइस मिल्सको जग्गा बिक्री गर्न नपाइने भन्दै स्थानीय जनता युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले व्यापक विरोध प्रदर्शन गरेका छन् । गौर राइस मिल्सको जग्गा बेच्न पाइँदैन,भूमि माफिया होसियार, नगरपालिकाको निर्णय खारेज गर जस्ता नारासहित प्रदर्शनकारीहरू गौरका विभिन्न स्थानमा नारा जुलुससहित अघि बढेका थिए ।
प्रदेश सभा सदस्य, विभिन्न दलका नेता, स्थानीय युवा तथा समाजसेवीहरू समेत प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले उक्त जग्गा रौतहटबासीको सम्पत्ति भएको बताउँदै यसको बिक्री भएमा ठूलो आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
गौरको बीपी चौकबाट सुरु भएको प्रदर्शन अदालत, जिल्ला प्रशासन कार्यालय, खानेपानी हुँदै गौर नगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजी र विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा प्रदेश सभा सदस्य नागेन्द्र साह, कांग्रेस नेता मोहन यादव, एमाले युवा नेता बजरंगी गुप्ता, मिथिलेश झा, राप्रपाका नेता विक्रान्त नेपाल (पालु),भुषन सिंह,गौर नगरका पूर्व वडाध्यक्षहरू तथा स्थानीय युवाहरूको व्यापक उपस्थिति थियो ।
उनीहरूले गौर राइस मिल्सको जग्गा कुनै पनि हालतमा बेच्न नदिने अडान राख्दै नगरप्रमुख शम्भु साहलाई ज्ञापन पत्र बुझाएका छन् । प्रदर्शनकारीहरूले नगरप्रमुखविरुद्ध चर्को नाराबाजी गर्दै नगरपालिकाले यदि जनताको विरोधविपरीत निर्णय लियो भने त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
नगरपालिकाले भुलबस निर्णय गरेको छ भने तुरुन्तै सच्याउनु पर्छ । यदि निर्णय सच्याइएन भने हामी बाध्य भएर चरणबद्ध आन्दोलन गर्नेछौँ जसको सम्पूर्ण जिम्मेवारी नगरप्रमुख र नगरपालिकाले लिनुपर्नेछ ।
विरोध प्रदर्शनको क्रममा गौर राइस मिल्स जग्गा बचाउ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउँदै स्थानीयहरूले गौर राइस मिल्सको जग्गा गौरबासीहरूको अमूल्य सम्पत्ति भएको बताउँदै यसको संरक्षण गर्न प्रशासनले तुरुन्त कदम चाल्नुपर्ने माग गरे । उनीहरूले प्रशासनलाई चेतावनी दिँदै भने यदि प्रशासनले हाम्रो आवाज नसुनेर नगरपालिकालाई समर्थन गर्छ भने हामी सडक आन्दोलन गर्न बाध्य हुनेछौँ ।
गौर राइस मिल्स क्षेत्र गौर नगरको एक ऐतिहासिक सम्पत्ति हो । स्थानीयहरूका अनुसार यो मिल रौतहटको पहिचानसँग जोडिएको छ र यसलाई व्यक्तिगत स्वार्थमा बिक्री गर्न खोज्नु अन्यायपूर्ण हुनेछ । स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन् कि केही भू–माफियाहरू नगरपालिकाको मिलेमतोमा यस जग्गालाई व्यक्तिगत स्वार्थमा बिक्री गर्न खोजिरहेका छन् । यदि नगरपालिकाले जग्गा बिक्री गर्ने योजना अघि बढाएमा, गौरबासीहरूले सडक संघर्ष चर्काउने र आवश्यकता परे गौर बन्दसम्म गर्ने चेतावनी दिएका छन् ।
गौर राइस मिल्सको जग्गा बचाउन विभिन्न राजनीतिक दलका नेताहरू पनि एकजुट भएका छन् । उनीहरूले यो मुद्दा गौर नगरको मात्रै नभई सम्पूर्ण रौतहट जिल्लाका जनताको सरोकारको विषय भएको बताएका छन् । मिलको जग्गा बिक्री गरेर कुनै व्यापारी वा माफियालाई फाइदा पुग्ने गरी नगरपालिकाले निर्णय गर्न लाग्यो भने जनताले त्यो स्वीकार गर्ने छैनन् ।
गौर नगरपालिकाले जग्गा बिक्री गर्ने प्रयास गर्छ भने हामी सबै पार्टी र स्थानीय जनता मिलेर ठूलो संघर्ष गर्नेछौँ । प्रदर्शनमा स्थानीय युवा समूहको ठुलो सहभागिता थियो । उनीहरूले नगरपालिकालाई आन्दोलन अझै सशक्त बनाउने चेतावनी दिँदै गौरबासी एक हौँ, हाम्रो सम्पत्ति जोगाऔँ भन्दै नारा लगाएका थिए ।
स्थानीय युवा नेता विक्रान्त नेपाल (पालु) का अनुसार गौर राईस मिल हाम्रो भविष्यसँग जोडिएको विषय हो । नगरपालिकाले लुकीछिपी निर्णय गरेर हाम्रो सम्पत्ति बेच्न पाइँदैन । प्रशासन र नगरपालिकाले हाम्रो आवाज नसुन्यो भने हामी संघर्षका नयाँ चरण घोषणा गर्नेछौँ ।
विरोध प्रदर्शनमा सहभागी स्थानीय युवाहरूले नगरपालिकाले यदि आफ्नो निर्णय सच्याएन भने बृहत् संघर्ष गर्ने र आवश्यक परे गौर बन्दसम्म गर्ने चेतावनी दिएका छन् ।
गौर राइस मिल्सको जग्गा गौरको पहिचान हो । यदि यसको रक्षा नगरिए गौरबासीको अस्तित्व संकटमा पर्न सक्छ । नगरपालिकाले होसियारीपूर्वक निर्णय गर्नुपर्छ नत्र हामी यो लडाइँलाई अझ सशक्त बनाउनेछौँ ।
गौर राइस मिल्सको जग्गा बिक्री गर्ने प्रस्तावले स्थानीय जनतामा ठूलो असन्तुष्टि पैदा गरेको छ । उनीहरूले नगरपालिकालाई निर्णय सच्याउन दिएको अल्टिमेटमपछि नगरपालिका र प्रशासन कसरी प्रतिक्रिया दिन्छ त्यसलाई लिएर जनताको चासो बढेको छ । प्रशासनले कुनै कदम नचाल्ने हो भने गौरमा अझ ठूलो आन्दोलन चर्किने सम्भावना देखिएको छ । वर्षो देखि सार्वजनिक गर्नु पर्ने विषयमा चर्चा चल्दै आएको उक्त राइस मिलको जग्गाको विषयमा गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले निशुल्क रुपमा दानमा नगरपालिकाले २ बिगहा १५ कट्ठा जग्गा खेलकूद मैदानको रुपमा पाइरहेको अभिव्यक्ति सार्वजनिक गरेपछि बिबाद चर्किएको हो !