पूर्व नगरप्रमुख गुप्ताद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

138

रौतहट— गौर नगरपालिकामा रहेको राइस मिलको सार्वजनिक जग्गा भूमाफियाहरूले नक्कली कागजात तयार गरी हडप्न खोजेको भन्दै त्यसलाई रोक्न माग गर्दै गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय कुमार गुप्ताले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बुझाइएको उक्त ज्ञापनपत्रमा भूमाफियाहरूले गौर नगरपालिकाको मिलेमतोमा ठूलो आर्थिक चलखेल गर्दै सार्वजनिक सम्पत्तिको बिक्री गर्न लागेको दाबी गरिएको छ। सो जग्गा रोक्का राखी दोषीमाथि छानबिन गर्नुपर्ने माग गुप्ताले राखेका छन्।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, उक्त जग्गा वर्षौंदेखि मेला महोत्सव, राजनीतिक सभा तथा खेलकुदका लागि प्रयोग हुँदै आएको छ। विशेष गरी क्रिकेट खेलाडीहरूले अभ्यास गर्ने मैदानका रूपमा समेत यसको उपयोग भइरहेको छ। भूमाफियाहरूको गतिविधिका कारण खेलमैदान नै मासिने खतरा रहेको बताउँदै गुप्ताले प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गरी जग्गाको बिक्री रोक्न आग्रह गरेका छन्।
ज्ञापनपत्रमा साविक गौर गाविस वडा नम्बर ७ का कित्ता नम्बर १३९ – क्षेत्रफल ०-४-१५,कित्ता नम्बर १४० – क्षेत्रफल ०-१६-०,कित्ता नम्बर १६३ – क्षेत्रफल ४-१०-०,कित्ता नम्बर ८०३ – क्षेत्रफल ०-९-० ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
पूर्व नगरप्रमुख तथा रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी समेत रहेका गुप्ताले भूमाफियाहरूले अवैध रूपमा उक्त जग्गा बिक्री गर्ने षड्यन्त्र गरिरहेका कारण सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।
उनले ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीसमक्ष सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै स्थानीय बासिन्दाको हकहित सुनिश्चित गर्न अनुरोध गरेका छन्। यदि सो जग्गा बिक्री भएमा रौतहटवासीका सपना चकनाचूर हुने भन्दै उनले दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।