रौतहट । रौतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा गत पुष महिना राति भएको आगलागीका कारण आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । पीडित परिवारलाई प्रारम्भिक राहतस्वरूप विभिन्न संघसंस्थाले खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराएका थिए । अब दीर्घकालीन पुनस्र्थापनाका लागि असल छिमेकी नेपाल कास्कीको सहयोग र राजदेवी नगरपालिकाको समन्वयमा जस्ता पाता, काटी र तार सोमवार वितरण गरिएको छ ।
नगरपालिकाका उपप्रमुख राजकुमारी देवीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले आठ पीडित परिवारलाई प्रती घर २४ पिस जस्ता पाता, तीन किलो काटी र तार प्रदान गरिएको जानकारी दिए । यस राहतले पीडित परिवारलाई आफ्नो पुनस्र्थापना गर्न सहज हुनेछ ।
त्यस्तै, राजदेवी नगरपालिका–५ कै पताही मुसहर बस्तीका २० घरपरिवारलाई जाडो छल्नका लागि असल छिमेकी नेपालको सहयोगमा जनही एक ज्याकेट र पाँच टोपी वितरण गरिएको छ ।
यसअघि पनि असल छिमेकी नेपालले राजदेवी नगरपालिकाका बाढी पीडितलाई खाद्यान्न र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री किट प्रदान गरिसकेको थियो । आगामी दिनमा नगरवासीका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी आवश्यक औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्ने योजना रहेको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासले जानकारी दिए । नगरपालिकाले असल छिमेकी नेपालले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रम अधिकृत सुरेन्द्र दासलाई गम्छा ओढाएर सम्मान समेत गरेको थियो ।