जिल्ला अदालत रौतहटबाट फरार १३ जना प्रतिवादी पक्राउ

133

रौतहट, फागुन ५ – जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्धामा जरिवाना सजाय तोकिएर फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी टोलीले विभिन्न समयमा सजाय सुनाइएका तर फरार रहेका उनीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार रायका अनुसार पक्राउ परेकाहरूमाथि गाली बेईज्जती, अदालतको अवहेलना, लेनदेन, जालसाजी, नाता कायम, किर्ते जालसाजी, सम्बन्ध बिच्छेद र कुटपिटका मुद्धामा जरिवाना सजाय तोकिएको थियो।

पक्राउ पर्नेहरूमा गाली बेईज्जती मुद्धामा लालउती महतो र शकुन्ती देवी, अदालतको अवहेलना मुद्धामा शान्ती देवी, लेनदेन मुद्धामा जगरनाथ मुखिया, सन्तलाल मुखिया र अनिल मिश्र, जालसाजी मुद्धामा रामचन्द्र हजरा दुसाद, नाता कायम मुद्धामा हिमा कुमारी यादव र गर्भलाल प्रघा, किर्ते जालसाजी मुद्धामा सिया देवी यादव, सम्बन्ध बिच्छेद मुद्धामा रूना कुमारी महतो, मन्जु देवी सहनी तथा कुटपिट मुद्धामा दिला देवी रहेका छन्।

डीएसपी रायका अनुसार पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको छ। प्रहरीले कानुनी शासन कायम गर्न फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।