रौतहट – रौतहट जिल्लाको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नन्दकिशोर गुप्ता आएपछि विकास निर्माणका कामहरू तीव्र रूपमा अघि बढेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार नगरपालिकाले सञ्चालन गरिरहेका विकास योजनाहरूमा उल्लेखनीय प्रगति भएको छ ।
गत भदौ महिनामा इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त भएका गुप्ताले नगरपालिकाभित्रका सबै प्रशासनिक कार्यलाई चुस्त बनाउँदै विकासका आयोजना, सामाजिक सुरक्षाभत्ता वितरण, कर्मचारी व्यवस्थापन, पारिश्रमिक भुक्तानी जस्ता विषयहरूमा सुधार ल्याएका छन् । उनका अनुसार जनताले सहज रूपमा सेवा पाउने व्यवस्था मिलाइएको छ ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका धेरै सेवा प्रभावित भएका थिए । सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, ज्येष्ठ नागरिक भत्ता, अपांग भत्ता लगायतका रकम समयमा वितरण नहुँदा लाभग्राहीहरू मारमा परेका थिए । त्यस्तै, विकास निर्माणका आयोजनाहरूका लागि ठेकेदार र श्रमिकहरूले समयमै पारिश्रमिक नपाउँदा कार्यहरू रोकिएका थिए ।
गुप्ताले पदभार ग्रहण गरेसँगै यी सबै अवरोध हटाउँदै नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाएका छन । उनका अनुसार अब सामाजिक सुरक्षा भत्ता वितरण नियमित रूपमा हुनेछ भने विकास आयोजनाहरू समयमै सम्पन्न गर्न पहल गरिनेछ ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कर्मचारीहरूले समेत तोकिएको समयमा कार्यालय नआउने समस्या थियो । तर, गुप्ताको नेतृत्वमा अब कर्मचारीहरू समयमा उपस्थित हुने, सेवाग्राहीलाई छिटोछरितो सेवा दिने, फाइल प्रक्रिया छिटो पार्ने लगायतका सुधार गरिएको छ ।
सेवाग्राहीहरूका अनुसार पहिले जस्तो कार्यालयमा जाँदा अनावश्यक झमेला भोग्नुपर्ने अवस्था हटेको छ । अब सामान्य सिफारिस, नवीकरण, दर्ता लगायतका कार्यहरू छिटोछरितो रूपमा हुन थालेको छ ।
प्रशासकीय अधिकृत गुप्ताले इशनाथ नगरपालिकामा अनियमितता हुन नदिन कडा कदम चालेका छन् । उनले नगरपालिकामा चल्दै आएका गैरकानुनी तथा अनियमित क्रियाकलापहरूलाई नियन्त्रण गर्दै सेवा प्रवाहलाई पारदर्शी बनाउने काम गरिरहेको बताएका छन । उनले भने म जनतासँग पारदर्शिता राखेर काम गरिरहेको छु । मेरो प्राथमिकता भनेको नगरपालिकालाई व्यवस्थित बनाउनु र विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउनु हो। तर, केही अराजक तत्वहरूले मेरो छविलाई धमिल्याउन खोजिरहेका छन् ।
नगरपालिकाका विकास निर्माणले गति लिएको भन्दै स्थानीयबासीहरू खुशी छन् । नगरका विभिन्न वडामा रहेका योजनाहरूको काम अघि बढ्दा स्थानीयहरू उत्साहित देखिएका छन् । नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले पनि प्रशासकीय अधिकृत गुप्ताले कामलाई गति दिएको बताउँदै उनको नेतृत्वमा इशनाथ नगरपालिकाको विकास थप गतिशील बनेको बताएका छन् ।
स्थानीय व्यवसायी र नागरिकहरूले नगरपालिकामा सेवा लिन आउँदा सहज भएको महसुस गरेको बताएका छन् ।