रौतहटमा नक्कली पेस्तोल देखाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ

43

रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया सिमावर्ती क्षेत्रमा नक्कली चाइनिज पेस्तोल (खेलौना) देखाएर डर त्रास फैलाउँदै पैसा असुल्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत, मोतिहारी जिल्लाको ग्राम पञ्चायत खरोही वडा नं. ४ निवासी २० वर्षीय अब्दुल कलाम रहेका छन्।

प्रहरीका अनुसार माघ ७ गते साँझ ७:३० बजेको समयमा उक्त व्यक्तिले सिमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिलाई डर देखाई पैसा माग्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

सूचना अधिकारी राम कुमार महतोका अनुसार, प्रारम्भिक अनुसन्धानबाट अभियुक्तले मानिसहरूलाई त्रसित बनाएर आर्थिक फाइदा लिने उद्देश्यले यस्तो गतिविधि गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।