रौतहट, १५ बैशाख : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो।
अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र पछि बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए। बिहीबार कार्यक्रम आयोजना गरी रिले अनशन तोडेका छन्। वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे र अनशनरत पक्षहरूबीच पाँचबुँदे सहमति पनि भएको छ।
रिले अनशन बस्ने पक्षबाट माग भए बमोजिमका सूचना कानुनसम्मत रूपमा कार्यालयले उपलब्ध गराउने, रिले अनशनमा नगरपालिकाका वडाध्यक्षहरू समेत सहभागी भएकाले उनीहरूबाट कार्यालयसँग समन्वय गरी सूचना प्राप्त गर्ने, सुशासन कायम गर्न कार्यालयका तर्फबाट यथा समयमा सार्वजनिक सुनुवाइ आयोजना गर्ने, कार्यालयका तर्फबाट माग बमोजिम आर्थिक वर्ष २०७८।०७९ को जेठ १ गते देखि हालसम्मको सञ्चित कोष,चालू र पुँजीगत तर्फको बैंक स्टेटमेन्ट उपलब्ध गराउने, नगरवासी–राजनीतिक दल तथा जनप्रतिनिधिबीच सहकार्य तथा समन्वय कायम राख्ने सहमति भएको छ।
नगरप्रमुख प्रत्यासी रामस्नेही यादव, प्रेमशंकरप्रसाद यादव, रामप्रसाद पटेल, शेख हकिम, पवन यादव अनशन बसेका थिए। वडा नं २ का अध्यक्ष सिकिन्द्र पटेल, वडा नं ३ का वडाध्यक्ष हरिनारायण साह, वडा नं ४ का अध्यक्ष श्यामनन्दनप्रसाद यादव र वडा नं ५ का वडाध्यक्ष फेकन दास सहितका वडासदस्यहरू पनि अनशन बसेका थिए।
३८ दिनदेखिको रिले अनशनका कारण पालिकाका सम्पूर्ण कामकाज ठप्प भएका थिए। यसबाट पालिकाका जनता मारमा पर्दै आएका थिए।