राजपुरमा निःशुल्क आँखा शिविर, नगर प्रमुख आलमद्वारा उद्घाटन

59

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा नगर प्रमुख डा. राजीक आलमको पहलमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ। प्रमुख आलमले आफ्नै आँखा परीक्षण गराउँदै शिविरको औपचारिक उद्घाटन गरेका हुन् । तिलगंगा आँखा अस्पताल, काठमाडौं, र नेपाली सेनाको सहकार्यमा आयोजना गरिएको यो शिविरले नगरवासीलाई निःशुल्क आँखा परीक्षण र उपचार सुविधा उपलब्ध गराइरहेको छ ।

नगर प्रमुख डा. आलमले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यो शिविर सञ्चालनमा ल्याएको बताएका छन् । उनले भने आँखाको समस्या धेरै नगरवासीको साझा चुनौती हो। यो शिविरले आँखाको रोग पहिचान र उपचारमा ठुलो सहयोग गर्नेछ ।

शिविरमा तिलगंगा आँखा अस्पतालका विशेषज्ञहरूले आँखाको सम्पूर्ण परीक्षण, सामान्य उपचार, र गम्भीर अवस्थाका लागि परामर्श प्रदान गरिरहेका छन् । बालबालिका, जेष्ठ नागरिक, र महिलाको सहभागीता उल्लेखनीय रहेको छ ।

शिविरमा उपचार गराउन आएका एक स्थानियले भने, “यस प्रकारको सेवा गरिब र ग्रामीण समुदायका लागि ठूलो राहत हो। नगर प्रमुखले यस्तो कार्यक्रम सञ्चालन गरेर हाम्रालाई धेरै सहयोग गर्नुभएको छ।”

नगरपालिकाले सबै नगरवासीलाई शिविरमा सहभागी भई आफ्नो आँखाको परीक्षण गराउन आग्रह गरेका थिए। नगर प्रमुख आलमले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भोलि परोहा नगरपालिकामा संचालन गर्ने पालिकाका स्वास्थ्य शाखाले जानकारी दिएका छन ।