रौतहटमा चिसोका कारण विद्यालय तीन दिनका लागि बन्द

119

रौतहट । चिसो अत्याधिक बढेपछि रौतहट जिल्लाका विभिन्न पालिकाहरूले तीन दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्। शीतलहर र बाक्लो हुस्सुको कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि पौष २४ गतेदेखि २६ गतेसम्म सरकारी र निजी विद्यालयहरू बन्द गरिने भएको छ।

गौर नगरपालिका, ईशनाथ नगरपालिका,राजदेवी नगरपालिका,यमुनामाइ गाउपालिका, बौधिमाई नगरपालिका,बृन्दावन नगरपालिका र फतुवा विजयपुर नगरपालिकालगायतका पालिकाहरूले मंगलवार सूचना जारी गर्दै अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बालबालिकाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको जानकारी दिए। उनका अनुसार स-साना विद्यार्थीहरू जाडोको कारण लुगलुग काम्ने, रुघाखोकी र ज्वरोले प्रभावित हुने सम्भावना रहेकाले यस्तो कदम चालिएको हो।

जिल्लाको विभिन्न भागमा पश्चिमी हावा, बाक्लो हुस्सु, र शीतलहरले जनजीवन प्रभावित बनाउँदै आएको छ। चिसोका कारण विद्यालयमा विद्यार्थीहरूको उपस्थिति न्यून हुँदै गएको र पठनपाठनमा कठिनाइ उत्पन्न भएको शिक्षकहरूले बताएका छन्।

यस निर्णयअनुसार तीन दिनको छुट्टी वर्षे बिदाबाट कटौती गरिने सूचनामा उल्लेख छ। चिसोका कारण दैनिक जनजीवनमा समेत समस्या परिरहेको छ।