रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक घरपरिवारलाई ग्यास चुल्होसहित सिलिन्डर वितरण गरेको हो। अस्थायी प्रहरी चौकीको प्रांगणमा औपचारिक कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्होसहितको ग्यास सिलिन्डर वितरण गरे। कार्यक्रममा बोल्दै नगरप्रमुख वकिलले यस अभियानले परम्परागत चुल्होमा खाना पकाउँदा हुने धुवाँको असरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, उनले ग्यास चुल्हो प्रयोगले खाना पकाउने तरिकालाई आधुनिक, सफा र स्वास्थ्यमैत्री बनाउनेमा जोड दिए।
अभियान अन्तर्गत हालसम्म वडा नम्बर १ देखि ३ का स्थानीयलाई चुल्होसहित ग्यास सिलिन्डर वितरण गरिसकिएको छ। बाँकी वडाहरूमा क्रमशः वितरण गरिने नगरपालिकाले जनाएको छ। यस कार्यक्रममार्फत आठ हजार ग्यास सिलिन्डर वितरण गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा वडाध्यक्ष, ईन्जिनियर दिपेन्द्र यादव, नगरपालिकाका कर्मचारी, स्थानीय समाजसेवी र अन्य भलादमीहरुको सहभागिता रहेको थियो। उनीहरुले यस योजनाको प्रभावकारिताबारे सकारात्मक धारणा व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, धुवाँमुक्त अभियानले विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनेछ।
परम्परागत चुल्होको धुवाँका कारण धेरै ग्रामीण बासिन्दाले स्वास्थ्य समस्या भोग्नुपरेको तथ्यलाई ध्यानमा राख्दै नगरपालिकाले यो अभियान सञ्चालन गरेको हो। चुल्हो वितरण कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले नगरपालिकाको यो प्रयासको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले यस्तो पहलले आफ्नो जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, नगरप्रमुख शेख वकिलले अभियानको निरन्तरता सुनिश्चित गर्दै जनताको हक र हितका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे। स्थानीय तहबाट गरिएको यस्तो ठोस कदमले परोहा नगरपालिकालाई धुवाँमुक्त बनाउने मात्र नभई स्वच्छ र आधुनिक जीवनशैलीप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ।