लागूऔषध तथा हातहतियार सहित १ जनालाई पक्राउ

106

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ निवासी राजु स्याङतान रहेका छन्। उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जेठ ३१ गते साँझ ७ बजे पक्राउ गरेको मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए।

एसपी विश्वराज खड्काका अनुसार, स्याङतानले ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर लुकाइएको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्तोल, त्यसको एक थान म्यागजिन र १३ राउण्ड गोली फेला परेको हो। त्यस्तै, स्याङतानकै गोठमा मैकैको खोस्टाभित्र लुकाइएको अवस्थामा अर्को कटुवा पेस्तोल र थप १२ राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, उनको घरबाट अफिमजस्तो देखिने करिब १ किलो ३१० ग्राम गिलो पदार्थ र २२ किलो ८ सय ग्राम गाँजा समेत फेला परेको छ। प्रहरीले स्याङतानलाई लागुऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी ७ दिनको लागि अनुसन्धान थालिएको जानकारी दिएको छ।