राजपुरका ६ जनामा हैजा भेटियो, स्वास्थ्य टोली परिचालन

24

रौतहट : रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय प्रभावित भएका छन्। स्थिति गम्भीर देखिएपछि प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा विशेषज्ञहरूको टोली शनिवार आवश्यक औषधि र सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएका छन्।

टोलीमा अस्पतालका अध्यक्ष महमद अनवर हाशमी, इमर्जेन्सी इन्चार्ज डा. राजेशकुमार सिंह, डा.गोपाल गुप्तालगायतका स्वास्थ्यकर्मीहरू सहभागी छन्। राजपुरको वडा ३ र ४ मा झाडा पखालाको तीव्र प्रकोप देखिएको छ, जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ।

स्वास्थ्य चौकी राजपुरमा पछिल्लो दुई दिनमा २२ जना बिरामी उपचारका लागि पुगेका थिए। तीमध्ये ७ जनाको दिशाको नमुना परीक्षणका लागि गौर पठाइएको थियो, जहाँ आरडिटी परीक्षणबाट ६ जनामा हैजाको किटाणु फेला परेको पुष्टि भएको छ। स्वास्थ्य संयोजक आलमका अनुसार, १८ जना बिरामी हाल अस्पतालमा उपचाररत छन्, जसमा १० जना महिला, ७ बालबालिका र एक पुरुष रहेका छन्। बाँकी ४ जना भने उपचारपछि घर फर्किसकेका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार, झाडा पखाला र हैजा नियन्त्रणका लागि सावधानी अपनाउनु अत्यावश्यक छ। डा. मुरारी ठाकुरले भने, ‘स्वास्थ्य रहन खाना खानुअघि र दिशा गरेपछि राम्ररी हात धुनुहोस्।’ तातो पानीको प्रयोग गर्नुहोस् र बासी, सडेगलेको वा खुला राखिएको खानेकुरा नखान र पेट बिगार्ने खाना खानबाट जोगिन उनले अनुरोध गरेका छन्।