मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित, प्रमाणीकरणकाे बाटाे खुल्याे

204

राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याजपीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो।  

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रिय सभाले संशोधन स्वीकार गरी पुनः पारित गरेको हो। 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

सभाको आजको पहिलो बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए। सो विधेयक यसअघि नै राष्ट्रिय सभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो। सभाको अर्को बैठक यही साउन १८ गते बिहीबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ।