सर्लाही, ५ साउन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका हिरासत कक्षको शौचालयमा एक महिला थुनुवा कैदीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
सर्लाहीको चक्रघटा गाँउपालिका वडा नम्वर ८ की ४० बर्षिया हजरत खातुनले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासत कक्षको शौचालयमा शलले पासो लगाएर आत्महत्या गरेकी हुन् ।
शौचालय गएकी महिला थुनुवा निस्कन ढिला भएपछि शौचालयको ढाका फुटाल्दा झुण्डिरहेको अवस्थामा फेला पार्दा समेत निजको स्वास प्रस्वास चलिरहदा तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
गत साउन २ गते सशस्त्र प्रहरी सर्लाहीले श्रोत नखुलेको नेपाली रुपैया र गहना सहित महिला खातुनलाई नियन्त्रणमा लिएर हिजो नेपाल प्रहरीलाई बुझाएकि महिलाले प्रहरी हिरासत मै पासो लगाएर आत्महत्या गरेको उनले भने ।
सशस्त्र प्रहरिले सर्लाहिको नेपाल भारत सिमा क्षेत्रको झिलमिलिया माइ बोर्डरमा हजरतलाई पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित नियन्त्रणमा लिएको थियो ।
हिरासत कक्षमा रहेको शौचालयमा पासो लगाइ आत्महत्या गरेकी महिलाको शब पोस्टमार्टमको लागि अस्पताल राखिएको छ तथा आत्महत्या बारे अनुसन्धान सुरु भएको डिएसपी थारुले बताए ।