१०० वर्षीय किसिन्जरको अर्थपूर्ण बेइजिङ भ्रमण !

109

एजेन्सी । चतुर कूटनीतिज्ञ र विदेश मामलाका विज्ञ हुन्, हेनरी किसिन्जर । अमेरिकाका पूर्वविदेशमन्त्री समेत रहेका एक सय वर्षीय किसिन्जरको अप्रत्याशित चीन भ्रमणलाई विश्व समूदायले  ‘अर्थपूर्ण’ रुपमा हेरेको छ । 

पछिल्लो समय एकपछि अर्को गर्दै उच्च अमेरिकी अधिकारीहरुले चीनको भ्रमण गरिरहेका छन् । वासिङ्टनले बेइजिङसँगको सम्बन्ध सुधार्न खोजिरहेको यही परिवेशबीच किसिन्जर पनि चीन भ्रमणमा निस्किएका हुन् । 

चिनियाँ राष्ट्रपति सी जिन पिङ र कूटनीतिज्ञ किसिन्जरबीच बेइजिङमा भेट वार्ता पनि भएको थियो । भूतपूर्व अमेरिकी विदेशमन्त्री किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई सघाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

अमेरिकाले भने किसिन्जरको पछिल्लो चीन भ्रमणलाई ‘व्यक्तिगत’ भ्रमणको संज्ञा दिएको छ । तर, विदेश मामिलाका विज्ञहरूले किसिन्जरको चीन भ्रमणलाई फरक रूपमा हेरेका छन् । खासगरी विगतदेखि नै चीनमा रहेको किसिन्जरको विशेष छविका कारण उनले अमेरिका–चीनको सम्बन्धलाई सुमधुर बनाउन अनौपचारिक माध्यमका रूपमा काम गरिरहेको अनुमान विज्ञहरूको छ । 

चिनियाँ राष्ट्रपति सीले किसिन्जरलाई भव्य स्वागत गरेका थिए । चिनियाँ राष्ट्रपतिले किसिन्जरलाई दायुताई स्टेट गेस्टहाउमा स्वागत गरेका थिए । उक्त स्थानलाई विदेशी कूटनीतिज्ञहरूसँग औपचारिक भेटघाट गर्ने आत्मीय स्थलका रूपमा लिइन्छ । 

चिनियाँ राष्ट्रपति र किसिन्जरबीचको भेटपछि चिनियाँ अधिकारीहरूद्वारा एउटा संक्षिप्त विज्ञप्ति पनि जारी गरिएको छ । तर, उक्त विज्ञप्तिमा भेटका क्रममा चिनिया राष्ट्रपति र किसिन्जरबीच के कुरा भयो भन्ने विषयमा धेरै कुरा खुलाइएको छैन । 

उक्त विज्ञप्तिमा किसिन्जरलाई ‘विशिष्ट कूटनीतिज्ञ’ भन्दै प्रशंसा गरिएको छ । विज्ञप्तिमा अमेरिकालाई चीनसँग जोड्ने किसिन्जरको विगतको उपलब्धिका बारेमा पनि चर्चा गरिएको छ । किसिन्जर सोमवार बेइजिङमा अवतरण गरेका थिए ।

भ्रमणका क्रममा उनले चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ् यी र रक्षामन्त्री ली साङ्फूलाई पनि भेटेका छन् । साङ्फू अमेरिकाले लगाएको प्रतिबन्धित व्यक्तिहरूको सूचीमा पनि परेका छन् । किसिन्जरको भ्रमण र चिनियाँ अधिकारीहरूसँगको उनको भेटबारे अधिकांश चिनियाँ विज्ञप्ति मैत्रीपूर्ण भावका आधारमा नै आएको देखिन्छ । 

वाङ यी र ली साङ्फूले पनि किसिन्जरसँगको भेटपछि दुई विश्व शक्तिबीच आपसी सम्मान, सहकार्य र ‘शान्तिपूर्ण सहअस्तित्व’ मा जोड दिएका छन् । ती विज्ञप्तिहरूमा किसिन्जरलाई ‘चीनका मित्र’ को संज्ञा दिइएको छ । यसैगरी अमेरिका र चीन दुवैले एकअर्कालाई शत्रुका रूपमा थेग्न नसक्ने पनि उल्लेख गरिएको छ । 

किसिन्जरको भ्रमणमा अमेरिकी सरकार कुन तहसम्म संलग्न छ भन्ने विषय अझै रहस्यमै छ । विदेश मन्त्रालयका एक प्रवक्ताले त यसै साताको प्रारम्भमा मात्र आफूहरूले किसिन्जरको भ्रमणको बारेमा जानकारी पाएको दाबी गरेका छन् । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले समेत किसिन्जरको भ्रमणको बारेमा गत जुनमा मात्र थाहा पाएको बताइएको छ । गत जुनमा अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले चीनको भ्रमण गरेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार, सोही भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुले उनलाई किसिन्जरको भ्रमणको बारेमा बताएका थिए । 

विदेशमन्त्री ब्लिङ्कन बाहेक चिनियाँ राष्ट्रपति सीले केही समययता भेटेका अमेरिकी उच्च व्यक्तित्व किसिन्जर नै हुन् । अमेरिकी अर्थमन्त्री जनेट यलन र जलवायु मामिलाका अमेरिकी विशेष दूत जोन केरीले समेत केही समयअघि बेइजिङको भ्रमण गरेका थिए । तर, उनीहरूले चिनियाँ राष्ट्रपतिसँग भेट्ने समय भने पाएका थिएनन् ।

खासगरी भियतनाम युद्धलाई लिएर एसियाका विभिन्न राष्ट्रमा किसिन्जरलाई हेर्ने फरक दृष्टिकोणहरू छन् । तर, आफ्नो राष्ट्रलाई कूटनीतिक एक्लोपनबाट बाहिर निकालेको भनेर बेइजिङमा भने किसिन्जरलाई निकै सम्मानित रूपमा हेरिन्छ । 

सन् १९७१ मा अमेरिका र चीनबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध थिएन । त्यतिबेला किसिन्जरले नै गोप्य रूपमा बेइजिङको भ्रमण गर्दै तात्कालिक अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणको वातावरण बनाएका थिए । त्यसको अर्को वर्ष नै तत्कालीन अमेरिकी राष्ट्रपति निक्सन चीन भ्रमणका पुगेका थिए । 

चीन भ्रमणका क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनले माओ त्सेतुङसहितका शीर्ष नेताहरूलाई भेटेका थिए । त्यसले अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध सामान्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । 

कूटनीतिक रूपमा विश्व समुदायसँग एक्लिएको चीन त्यसपछि नै विश्वसामु खुला भएको थियो । त्यसयता किसिन्जरलाई चीनमा एक सय पटकभन्दा धेरै स्वागत गरिसकिएको बिहीबार जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । — बीबीसी