काठमाडौँ — अस्ट्रेलियाको पर्थमा आयोजित विश्व प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपालका खेलाडीले ७ पदक जितेका छन् ।नेपालबाट सहभागी प्रत्यारोपण गरेका खेलाडीले ५ किमि दौड, १००, २००, ४००, ८०० मिटर दौड, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याडमिन्टन, सटपुट तथा ज्याभ्लिन थ्रोलगायतका खेलकुदमा भाग लिएका थिए ।
त्यसमा गीता श्रेष्ठले हाइजम्पमा रजतसहित १०० र ४०० मिटर दौडमा कांस्य पदक जितिन् । विष्णुलाल तुसु श्रेष्ठले हाइजम्पमा रजत, लङजम्प र १०० मिटर दौडमा कांस्य तथा असिमकुमार लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन् ।
सन् २०१० देखि लगातार रूपमा राष्ट्रिय प्रत्यारोपण खेलकुदमा भाग लिई विजेता बनेका मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू (ध्रुवविक्रम मल्ल, गीता, विष्णुलाल तथा कलेजो प्रत्यारोपण गरेका असिमकुमार) ले भाग लिएका थिए । आरोग्य फाउन्डेसन तथा नेपाल प्रत्यारोपण खेलकुद संघबाट छनोट भएका उनीहरू मिर्गौला प्रत्यारोपण गरेका हरिनारायण शर्माको नेतृत्वमा त्यसतर्फ गएका थिए ।
अन्तर्राष्ट्रियस्तरमा विभिन्न खेलकुद कार्यक्रम तथा अंगदानको क्षेत्रमा काम गर्ने संस्था वर्ल्ड ट्रान्सप्लान्ट गेम्स फेडेरेसनको नेपालको आधिकारिक सदस्यता गर्ने संस्था आरोग्य फाउन्डेसन हो । फेडेरेसनले प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरमा विभिन्न किसिमका अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद गर्दै आइरहेको छ ।
यस वर्ष पर्थमा अप्रिल १५ देखि २१ सम्म अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद भएको छ । प्रतियोगितामा ४६ देशका १६ सयभन्दा बढी प्रत्यारोपण गरेका व्यक्ति तथा अंगदाताले विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा गरेका छन् ।
विभिन्न अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अंगदान गरेका व्यक्तिहरू पनि समाजमा अन्य व्यक्तिसरह स्वस्थ र सक्रिय जीवन जिउन सक्छन् भन्ने सन्देश फैलाउन सन् २०१० देखि प्रत्यारोपण खेलकुद कार्यक्रम नेपालमा पनि भइरहेको छ ।