‘नवौं लिटल थिएटर गराज’ सम्पन्‍न 

694

काठमाडौँ — थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले वार्षिकरुपमा आयोजना गर्ने ‘नवौं लिटल थिएटर गराज’ बालबालिकाको नाट्य प्रस्तुतिसँगै सम्पन्न भएको छ । बालबालिका लाक्षित अभिनय तथा नाट्य कार्यशालाको अन्तिम दिन अभिभावक र रंगप्रेमीहरुबीच नाटक ‘सिन्ड्रेला’ मञ्चन भएको हो । 

कार्यशालाका दौरान तयार पारिएको नाटकसँगै मञ्चमै दिइएको विषयमा बालबालिकाहरुले युगल अभिनय प्रस्तुत गरे । बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले बताए । ‘दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन्, उनीहरुले धेरै कुरा लिएर घर आउँदैछन् । आफ्ना छोराछोरीलाई स्वागत गर्न तयार रहनुस्,’ उनले उपस्थित अभिभावकलाई हेर्दै भने ।

गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एन्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोच लगायतका विषयमा कार्यशाला भयो ।

२०७१ बाट सुरु भएको यस कार्यशाला हरेक वर्ष चैत २० पछि हुने गरेको छ । कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्य तथा राराहिल मेमोरियल स्कुल कीर्तिपुर र नेपाल–जापान बाल पुस्तकालयको साथमा हुँदै आएको छ ।