चोरीको मोटरसाइकल चढ्ने सशस्त्र प्रहरीका सप्रनी खड्कालाई जोगाउन विभागिय चलखेल

332

सर्लाही, १३ वैशाख । चोरी भएको मोटरसाइकलमा सशस्त्र प्रहरीका इन्सपेक्टरले सरकारी नम्वर प्लेट राखेर चलाईरहेको अवस्थामा पक्राउ परेपनि आरोपितलाई जोगाउन विभागिय चलखेल सुरु भएको छ ।
सर्लाही मलंगवा स्थित नुतन आयल स्टोर्सबाट गत फागुन १२ गते चोरी भएको प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल सर्लाही खुटौना स्थित सशस्त्र प्रहरीको बेस क्याम्पका प्रमुख अंगद खड्काले सरकारी नम्वर प्लेट राखेर चलाइरहेको अवस्थामा सवारी धनीले पक्राउ गरी नेपाल प्रहरीलाई आवश्यक कारवाहीका लागि बुझाएपनि निजलाई जोगाउन विभागिय चलखेल भईरहेको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प खुटौनाका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) खडकाले गत बैशाख ४ गते तेल भराउन नुतल आयल स्टोरमा आउदा त्यही कार्यरत रहेका राकेश राउतले आफनो मोटरसाइकल पहिचान गरेर सोधपुछ गर्दा मोटरसाइकल सहित सशस्त्र प्रहरी निरीक्षकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवालाई जिम्मा लगाएका थिए ।
मलंगवा नगरपालिका ९ घर भई नुतन आयल स्टोरमा कार्यरत कर्मचारी राकेश राउतको प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल गत फागुन १२ मा पेट्रोल पम्पबाटै चोरी भएको थियो । चोरी भएको भोली पल्टै राउतले जिल्ला प्रहरी कार्यालय मलंगवामा लिखित उजुरी समेत दिएका थिए । सोही मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा खुटौना सशस्त्र प्रहरी बेसमा कार्यरत चालक तथा घुमुवा रोबिन पोखरेलले समातेर बेस क्याम्पमा पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
करिब दुई हप्तासम्म मोटरसाइकलको बारेमा कसैले सोधखोज गर्न नआएपछि घुमुवा तथा चालक पोखरेलले बेसपति सशस्त्र प्रहरी निरीक्षक अंगद खड्कालाई कन्भिन्स गरेर मोटरसाइकल चढेको बताइएको छ ।
सप्रनि खड्का र घुमुवा पोखरेलको मिलेमतोमा नै सर्लाही सदरमुकाम मलंगवाको जिविस चौकस्थित एक आर्ट तथा पेन्टर पसलमा हचुवाको भरमा प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकललाई बा २ ब ९७२६ बनाउन लगाएका थिए ।
चोरीको मोटरसाइकलमा सरकारी नम्बर प्लेट
पेन्टर पसलमा कम्प्युटरबाट नम्बर प्लेट बनाउन लगाई सप्रनि खड्का र घुमुवा पोखरेलले सरकारी नम्बर प्लेट कीर्ते जालसाजी गरेको बताइएको छ । सरकारी नम्बर प्लेट लगाएर दुई हप्ताभन्दा लामो समय खुटौना बेसबाट निर्धक्क मोटरसाइकल हुइकाइएका सप्रनि खड्का र घुमुवा पोखरेल बैसाख ४ मा नुतन आयल स्टोर मलंगवामा समातिएका थिए ।
समातिएको मोटरसाइकल लिएर सप्रनि खड्का र घुमुवा पोखरेल सधैँ मलंगवा नगरपालिका ९ स्थित ओम टे«डर्समा तेल भराउने गरेका थिए तर बैशाख ४ मा तेल नपाएपछि मलंगवा ४ शिवसागर चौकस्थित नुतन आयल स्टोरमा पुगेको श्रोतले दाबी गरे ।

नुतन आयल स्टोरका कर्मचारी पटेलले आफ्नो मोटरसाइकलमा सरकारी नम्बर प्लेट देखेर आफूसित भएको कागजपत्रसित चेसिस नम्बर भिडाउँदा मिलेपछि सप्रनि खड्का र घुमुवा पोखरेल पहिले भाग्न खोजेका थिए तर स्थानीयले समातेपछि आफूहरुले मोटरसाइकल समातेर भन्सार बुझाउन लैजाने क्रममा तेल कम भएपछि भराउन आएको मनगढन्त बहाना बनाए ।
चोरीको मोटरसाइकललाई सरकारी बनाउने जस्तो कीर्ते जालसाजी गर्ने सप्रनि खड्का र घुमुवा पोखरलाई चोख्याउन सशस्त्र प्रहरी गण नम्बर १० का गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलाबहादुर भण्डारीले पनि आफ्नै निर्देशनमा फर्जी प्रतिवेदन बनाउन लगाएका थिए । बैशाख ४ मा मलंगवा नगरपालिका ६ स्थित भेडरहिया नाकाबाट सरकारी नम्बर प्लेट भएकै अवस्थामा मोटरसाइकल समातिएको भन्ने फर्जी प्रतिवेदन सशस्त्र एसपी भण्डारीले बनाउन लगाएको श्रोतले बताउँछन् ।
गलत एवं फर्जी प्रतिवेदन बनाउनमा सशस्त्र एसपी भण्डारीको पनि संलग्न रहेको स्रोतले बताएको छ । सप्रनि खड्का र घुमुवा पोखरेललाई सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता बाहिनी बर्दीबासमा तानिएको स्रोतको दाबी गरे । एसपी भण्डारीले सप्रनि खड्का र सहायक हवलदार रोबिन पोखरेल बाहिनीमा गएका र छानबिन भइरहेको छ ।
बाहिनी प्रमुख सशस्त्र डिआइजी दीपेन्द्र शाहले सशस्त्र एसएसपी माधव पौडेलको नेतृत्वमा छानबिन टोली बनाएर घटनाबारे छानबिन भइरहेको बाहिनी श्रोतबाट बुझिएको छ ।
नुतन आयल स्टोरमा कार्यरत कर्मचारी राकेश पटेलले आफ्नो मोटरसाइकल बैशाख ४ मा नै चिनेको भए पनि अहिलेसम्म मोटरसाइकल फिर्ता पाउन सकेका छैनन् । चोरी भएको मोटरसाइकल सशस्त्र प्रहरी संग फेला परेपछि सम्बन्धितलाई कारबाही नहुनु तथा धनीले मोटरसाइकल पनि नपाउनुले सशस्त्र प्रहरीको कामकारवाही माथि शंका खडा भएको आरोप स्थानीयको रहेको छ । सप्रनी खड्का र घुमुवा पोखरेललाई चोख्याउने विभिन्न प्रपंचहरु भईरहेको छ ।
सशस्त्र प्रहरीसँग मोटरसाइकलको विषयमा मागेको विवरण अहिलेसम्म उपलब्ध नगराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेश राज सुवेदीको भनाइ छ ।
सीमा सुरक्षा लगायत आम मानिसको जीउधनको रक्षार्थ सीमामा खटिएका सशस्त्र प्रहरीले नै चोरीको मोटरसाइकलमा फर्जी सरकारी नम्वर प्लेट राखेर चलाउदै आएको अवस्थामा मोटरसाइकल धनीले पहिचान गरेर सप्रनी र घुमुवा पोखरेललाई समातेर कारवाहीको लागि बुझाएपनि प्रशासनीक स्तरबाट दुबै जनालाई चोख्याउने एवं जोगाउने कार्य सशस्त्र प्रहरीको विभागीयद्धारा भईरहदा उनीहरुको काम कारवाही प्रति मलंगवावासीले प्रश्न चिन्ह खडा गरेका छन् । तराई टप