आयुर्वेद औषधालय कार्यालय सहायकको भरमा च

492

श्याम गुप्ता वीरगंज। पर्सा जिल्लास्थित पोखरिया नगरपालिकाद्वारा सञ्चालित त्याहाँका दुई स्थानमा रहेको आयुर्वेद औषधालय कार्यालय सहायकको भरमा चलेका छन् । पोखरिया नगरपालिका वडा नं.७ गोविन्दपुरमा रानीगंज आयुर्वेद औषालय र वडा नं.९ गोविन्दपुरमा बैरियाबिर्ता आयुर्वेद औषधालय सञ्चालनमा रहेका हुन् ।

रानीगंज आयुर्वेद औषधालय र बैरियाबिर्ता आयुर्वेद औषधालयमा एक/एक जना चिकित्सक, एक/एक जना वैद्य र दुई/दुई जना कार्यालय सहायक कार्यरत छन् ।

चार/चार जना दरबन्दी रहेको दुईटै औषधालयमा एक जना कार्यालय सहायकले दैनिक बिरामी हेर्ने, औषधी दिने जस्ता कार्यहरू गर्दै आएका छन् । आयुर्वेद औषधालयमा दैनिक १० देखि १५ जना बिरामीहरू आउँने गर्छन् । बैरियाबिर्ता आयुर्वेद औषधालय कार्यालय सहायक सोनालाल साहको भरमा चलेको छ ।

त्यहाँ डा.रविन्द्र यादव, वैद्य दिपेन्द्र झा र कार्यालय सहायकमा साह र रामपूजन साह कार्यरत छन् । तर, चार जनामा साह मात्र दैनिक आउँछन् र सेवा दिने गर्छन् ।

चिकित्सक, वैद्य र अर्का सहयोगी भने साता, दुई सातामा हाजिर हुन्छन् । चिकित्सकले उपचार विधी र औषधी वितरण विधि सिकाएको भरमा आफूले सेवा दिंदै आएको सहायक साह बताउछन् ।

रानीगंज औषधालयमा भने दुई जना कार्यालय सहायकले आलोपालो सेवा दिंदै आएका छन् । यहाँ चिकित्सक रामेश्वर साह, वैद्य बृजेश ठाकुर र सहायकमा महेश यादव र श्री यादव कार्यरत छन् ।

यो औषधालयमा पनि दैनिक १०/१५ जना उपचारका लागि आउने गर्छन् । चिकित्सकले कुँन बिरामीलाई कुँन औषधी दिने भनी प्रशिक्षित पारेर गएको भरमा यो आयुर्वेद औषधालयलाई दुई जना कार्यालय सहायोगीले चलाउँदै आएका छन् ।

यहाँका चिकित्सक र वैद्य पनि साता/दुई सातामा एक पटक आउँछन् , अनि कार्यालय सहयोगीहरूसँग समस्याका बारेमा बुझ्छन् र फेरि प्रशिक्षित पारेर घरमा बस्छन् ।