सिरहामा आधा दर्जन गाडीमा तोडफोड, ७ राउण्ड आश्रुग्यास प्रहार

703

सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ । 

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने आमा हडताल उलंघन गरेको भन्दै जनमत पार्टीका समर्थकहरुले आधा दर्जन गाडीमा तोडफोड गरेको हो । 

जनमत पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै आईतबार सिरहा जिल्लाभरि आम हडतालको घोषणा गरेको थियो । आईतबार एक दिनको लागि अति आवश्यक बाहेक सम्पूर्ण शैक्षिक सँस्थान, कलकारखाना, यातायात समेत बन्द गर्न घोषणा गरेको थियो । 

सिरहामा आम हडतालको घोषणा हुँदा पनि जबरदस्ती यातायात चलाएको भन्दै आधा दर्जन सवारी साधनमा तोडफोड गरेको हो । उनीहरुले हडतालको उलंघन गरेको भन्दै तोडफोड गरेको छ । 

सिरहाको मिर्चैयामा मिर्चैया देखि पूर्व बतहा खोलास्थित, मिर्चैया बजार लगायत पूर्व पश्चिम राजमार्गमै विभिन्न ठाउँमा तोडफोड भएको हो । 

स्थिति आक्रमक बनेपछि रोक्नको लागि सिरहा प्रहरीले ७ राउण्ड आश्रुग्यास प्रहार गरेको बताइएको छ । अहिले स्थिति समान्य रहेको र यातायात समेत पातलो रुपमा चल्न थालेको बताइएको छ । 

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर झडप समेत भएको थियो । झडपको क्रममा केही प्रहरी र प्रदर्शकारी समेत घाईते भएको जनाईएको छ । 

गत साताको मँगलबार सिरहाको औरही गाउँपालिकाबाट किसानहरुले गहुँको बीउ लगेपछि प्रहरीले एक किसानलाई पक्राउ गरेको हो । उनको रिहाईको माग गर्दै जनमत पार्टीले आन्दोलन स्वरुप एक दिने आम हडतालको घोषणा गरेको हो । आमहडताल मात्र सिरहा जिल्लामा गरिएको हो ।