रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका ५ मिठुअवा निवासी राम प्रवेश सहनीले लिएको २ लाख ऋणको सवासहित २० लाख रुपैयाँ तिरेपनि साहुले जग्गा विक्री गरेको आरोप लगाएका छन् ।
सदरमुकाम गौरस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमा पीडित सहनीले २०६८ जेठ २६ गतेमा देवाही गोनाही नगरपालिका वडा नम्बर २ निवासी राजकुमार साह तेलीसित ४ कट्ठा १८ धुर जग्गा रजिष्ट्रेसन गरि लिएको २ लाख रुपैयाको पटक पटक गरि २० लाख रुपैयाँ दिएपनि जग्गा अन्यत्र विक्री गरि दिएको आरोप लगाए । श्रीमति विरामी पर्दा उपचारको लागि ऋण माग्दा जग्गा नामसारी गरी कपाली तमसुक पनि गरेको उनले बताए । ऋण दित तयार भएपछि मेरो नाममा रहेको ४ कट्ठा ३ धुर खेत र १५ धुर घरवासको जग्गा साहु राजकुमार साह तेलीले आफनो सम्धी देवाही गोनाही नगरपालिका २ निवासी रुपलाल साह तेलीको नाममा पास गराइ कपाली तमसुक समेत गराएको सहनीले दावी गरे । कर्जा लिएको केही दिन पछि छोराछोरी, दाइको मृत्यु भएपछि समस्यामा फसेको सुनाउदै सहनीले केही समय पछि साहुलाई रकम फिर्ता गर्न शुरु गरेको बताए । २०७६ साल सम्म २ लाखको २० लाख तिरेर जग्गा फिर्ता गरिदिनु र कपाली तमसुक फिर्ता माग्दा रकम नलिएको र जग्गा पनि मेरो रहेको साहु राजकुमार साहले जवाफ फर्काएको उनले थपे । साहु राज कुमार साह निर्वाचित वडाध्यक्ष हुन् ।
साहले रकम लिएर लडाइ सहनीसित १५ धुर र सत्य नारायण साहसित ४ कठा ३ धुर जग्गा विक्री गरि दिएको जानकारी पछि अन्यायमा परि न्यायको लागी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासनक कार्यालय रौतहटमा उजुरी हाल्दा पनि कुनै कारवाही नहुदा बाध्य भइ मिडियाको शरणमा पुगेको दुखेसो पोखे । पीडितको पत्नी सिता देवीले गाउँको ननिपत सहनी र भोजेन्द्र सहनीको रोहबरमा रकम फिर्ता दिएको दावी गरे । मिटर व्याजीको कारोवार गर्ने साहले २० लाखको जग्गा ३ लाखमा मात्र विक्री गरी वेघर बनाएकोले कारवाही गरी न्याय दिलाइ दिन आग्रह गरे । वडाध्यक्ष साह माथि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदा मुद्दा फाँटमा कार्यरत रहेको उमेश साहले १ लाख रुपैया माग्दा दिन नसक्दा कारवाही प्रक्रिया अघि नबढाएको आरोप पीडितले लगाए । उनले अन्यायमा पर्दा पनि न्यायको लागी कोही नबोलेकोले गरीब , असहाय कसरी बाच्ने आँशु पोख्दै भने पावर र पहुँच भएको लागी मात्र न्याय रहेको छ । गरिवको लागी पिडा मात्र हो ।