जाहेरी दर्ता गराउन दलित समुदायद्धारा प्रहरी कार्यालय घेराउ गरी धर्ना प्रदर्शन

2442

रौतहट, २३ भदौं । जाहेरी दर्ताको माग राख्दै विजय राम, निरञ्जन राम र सुमिन्त्रा बैठा हत्या काण्डाको संयुक्त संघर्ष समिति रौतहटले मंगलवार जिल्ला प्रहरी कार्यालय गौरलाई घेराउ गरी धर्ना प्रदर्शन गरेका छन् ।
संयुक्त समितिका संयोजक सोनेलाल रामको नेतृत्वमा दलित समुदायका अगुवाहरु प्रहरी हिरासतमा मारिएका विजय रामलाई न्याय दिलाउन किटानी जाहेरी दर्ता गराउन आएकाहरु प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी गर्दै करिव डेढ घण्टा सम्म जिल्ला प्रहरी कार्यालय घेराउ गरेर धर्ना प्रदर्शन गरेका हुन् ।
साउन ३१ गते राति गरुडा नगरपालिकाको जिगडियाका २० बर्षिय युवक निरञ्जन रामलाई घाँटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले उनकै नातेदारी विजय राम सहित सात जनालाई हिरासतमा लिएर अनुसन्धान गर्ने क्रममा प्रहरीको चरम यातनाबाट थला परेका विजयको भदौं १० गते राति १ बजेको समयमा विरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका थिए । युवकको मृत्यु भएपछि दलित समुदाय झन् आक्रोशित बन्दै भदौं ११ गते देखि अनवरत रुपमा संघर्ष गर्दै आएका छन् ।
यातना दिएर अनुसन्धान गराउन आदेश दिने तत्कालिन एसपी रबीराज खड्का, इप्रका गरुडाका तत्कालिन डिएसपी ज्ञानकुमार महतो सहित १० जनालाई विपक्षी बनाएर किटानी जाहेर दर्ता गराउन खोज्दा विगत ५ दिन देखि निरन्तर रुपमा प्रशासनीक निकायमा धाईरहेका छन् । आज उक्त संघर्ष समितिले जाहेरी दर्ता गराउन खोज्दा जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिन नमानेको दलित नेता धर्मेन्द्र पासवानले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय गौरले लिन नमानेपछि पुन ः दलित अगुवाहरु सरकारी वकिलको कार्यालयमा दर्ता गराउन गएको तर कार्यालय समय सकिसकेको हुँदा बुधवार विहान १० बजे जाहेरी लिएर दर्ता गराउने आश्वासन सरकारी वकिलको कार्यालयबाट पाएको पासवानले जानकारी दिए ।
प्रहरीको चरम यातना पाएका विजयको मृत्यु भएपछि काठमाण्डौको महराजगंज स्थित शिक्षण अस्पतालमा पोष्टमार्टम हुँदा चोटपटकबाट मृत्यु भएको पुष्टि गरेपछि एसपी सहितका व्यक्तिहरुलाई आरोपित बनाएर जाहेरी दर्ता गराउन जाँदा एसपी र डिएसपीको नाम हटाएर ल्याउनुस अनि मात्रै दर्ता हुने बताएपछि दलितहरु प्रहरी माथि झन् आक्रोशित बनेको दलित नेता पासवानले बताए ।
निरञ्जन रामको हत्याको आरोपमा विजय संगै पक्राउ परेका सिकिन्दर रामको अवस्था पनि गम्भीर रहेकोमा त्यसलाई समुचित उपचार नगराए स्थिति भयाभय हुने समेत चेतावनी पासवानले दिए ।
प्रहरी हिरासतमा यातना दिएको आरोपमा प्रहरी निरीक्षक नविन सिंह, प्रहरी हवलदारद्धय हिरोज मिया धनिया र मुन्नु सिहलाई निलम्बन निलम्बन गरिसकेपनि एसपी र डिएसपी सहित सर्च फलफुल नर्सरीका संचालक सहित १० जनालाई विपक्षी बनाएर जाहरी तयार गर्दा पनि आज सम्म दर्ता नभएको गुनासो विजय राम, निरञ्जन राम र सुमिन्त्रा बैठा हत्या काण्डाको संयुक्त संघर्ष समितिका संयोजक सोनेलाल रामले गरे । जाहेरी दर्ता गराउन दलित संघर्ष जारी रहने बताए ।