वैश्वका कोरोना महामारीको रोकथाम र नियन्त्रणमा हाम्रो देवाही गोनाही नगरपालिकाले लकडाउनको सुरुसंगै प्रभावकारी ढंगले कार्य अगाडि बढाईरहेको सन्दर्भमा एकाएक वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको सरुवा गरि भोजबहादुर ऐडीलाई पठायो । उहाँ भोजबहादुर ऐडी नगरपालिकामा हाजिर भई कार्य शुरु गरेको १ हप्ता नपुग्दै फेरी अर्का श्री विजय कार्कीले वैशाख १८ गते हाजिर गरे । विजय कार्की कामकाज गरि रहेकै अवस्थामा जेष्ट २८ गते उहाँको सरुवा भई श्री मनोज रजकलाई पठायो । मनोज रजक हाजिर हुन खोजिरहेकै बेला ५ दिनपछि उहाँको पनि सरुवा भई एक जना नासुलाई प्रमुख प्रशासकीय अधिकृत तोकेको सुचना प्राप्त भयो । यसरी अहिलेको कोरोना महामारीसंग जुध्नुपर्ने महत्त्वपूर्ण घडीमा मन्त्रालयबाट सरुवाको नाटक मञ्चन गरी नगरलाई संकटमा पारेको स्थिति छ ।
दुई वर्ष बस्दै नबसेको नगरसभा प्र.प्र. अधिकृत श्री सिकिन्द्र साहको पहलमा केही महिना अगाडि मात्रै बैठक बसी सर्वसम्मत ढंगले बजेट पारित गरेको थियो । बजेट पारित भई कार्यान्वयनको जटिल अवस्थामा एवं कोरोना सन्त्रास र लकडाउनमा मन्त्रालयबाट सहयोग र सहजीकरण गर्नुको सट्टा निरन्तर हस्तक्षेप गरि अस्तव्यस्त पार्ने कार्य निन्दनीय छ । कोरोना सन्त्रास र लकडाउनमा डेढ महिनामा ५ जना हाकिम सरुवा गरि संघीय सरकारले कोरोनाप्रति कति गम्भीर तथा स्थिरता र सुशासनको कस्तो अभ्यास गर्दैछ? आफैमा विचारणीय छ । आज संकटपूर्ण अवस्थामा यो नगरपालिका अस्तव्यस्त भएको छ, क्वारेन्टाइनको अवस्था दयनीय छ, बजेट खर्च करिबकरिब शून्य छ, राहत र बचाउको कार्य पनि कमजोर नै छ । यसको जिम्मा कसले लिने ? संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा सहयोग गरी मानवता विरुद्धको अपराध गरेको छ । तसर्थ माननीय मन्त्री हृदयेश त्रिपाठीले यो सम्पूर्ण कार्यको जिम्मा लिएर नैतिकताको आधारमा राजिनामा दिन जरुरी छ । यदि मन्त्रीले राजिनामा नदिए संघीय सरकार स्थानीय तहको क्षेत्राधिकारप्रति जिम्मेवार, कोरोना संक्रमणप्रति गम्भीर तथा स्थिरता र सुशासनको लागि प्रतिबद्ध छ भन्ने मा. मन्त्रीलाई तुरुन्त बर्खास्त गर्न सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
अन्त्यमा यस नगरपालिकाको हाकिम सरुवामा मा. मन्त्रीको स्तरबाट भईरहेको अदृश्य चलखेल रोक्न र गलत कार्यको जवाफदेही बनाउन संघीय सरकार खासगरी प्रधानमन्त्रीद्वारा चितबुझ्दो कदम नचालिए यो नगरपालिका कार्यालय अनिश्चितकालीन बन्द गर्न बाध्य हुने व्यवहोरा नगरकार्यपालिका सदस्यहरुले अनुरोध गरेका छन् ।
Home प्रदेश समाचार प्रदेश न. २ देवाही गोनाही नपाका जनप्रतिनिधिहरुले मागे नेकपाका मन्त्रीको बर्खास्ति