चोर नाका भएर नेपाल प्रवेश गर्न ३ जना युवकलाई नियन्त्रणमा लिई एसएसबीलाई जिम्मा

1182

रौतहट, ९ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे समयमा कोभिड – १९ कोरोना भाइरसबाट नेपाललाई सुरक्षित राख्न नेपाल भारत सिमा बन्द गरिएपनि मंगलवार चोर नाका भएर प्रवेश गरेका तिन जना युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल भारत सिमा क्षेत्रको चोर बाटो भएर कुनैपनि मानिसहरु प्रवेश नगरोस भन्ने उद्देश्यबाट रौतहटको भारत संग जोडिएको ३२ किलो मिटरमा १० वटा सशस्त्र वेश क्याम्प खडा गरी गत साता देखि निगरानी गरिरहेको छ । सोही क्रममा गौरको कानुपटि भएर नेपाल प्रवेश गरेका तिन जना नेपाली युवालाई विओपी गौरले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नेपालको ११ नम्वर गणले जनाएको हो ।
रौतहट जिल्ला राजपुर नगरपालिका ३ बलुवा टोलका २० बर्षिय मोहम्मद तारिक अनुवर, वृन्दावन नगरपालिका ९ भुसहाका १७ बर्षिय मोहम्मद अहमद र पर्सा जिल्ला परवानीपुर उपमहानगरपालिका २१ ताजपुरका १८ बर्षिय मोहम्मद मुराद आलमलाई आज विहान ९ बजेको समयमा गौर नपा १ कानुपटिमा गस्तीमा रहेको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका एसपी रविनराज कर्णजितले जानकारी दिए ।
नेपाल भारतको सिमा क्षेत्रमा पक्राउ पर्ने जुनसुकै देशको भएपनि जुन देशबाट आएको सोही स्थानमा क्वारेन्टीन गरेर राख्ने दुवै देशका सिमावर्ती पदाधिकारीहरु विच सहमती भए अनुसार नियन्त्रणमा लिइएका तिन नेपाली नागरिकलाई भारतीय एसएसबीलाई जिम्मा लगाइएको उनले बताए ।
एसएसबीको २० वि बटालियन अन्तर्गत बैरगनियाका कमाण्डर एसआई अभिषेक कुमारलाई तिनै जना युवालाई जिम्मा लगाइएको जानकारी दिदै सशस्त्र प्रहरीका एसपी कर्णजितले सिमा क्षेत्रमा निकै कडाई गरेपनि वेमौसमी बर्षाका कारण एकैछिन सुरक्षाकर्मी पछि हटेकै अवस्थामा प्रवेश गर्न खोज्दा तिनै जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु सितामढीबाट आइरहेको विद्यार्थी भएको भनिएको तर अहिलेको अवस्थामा जहा बसेको त्यही बस्न सवैसंग आग्रह गरिएको उनले स्पष्ट पारे ।