नबिल बैंकबाट चोरिएको लाखौँ रुपैयाँसहित भारतकाे मोतीहारीबाट तीन जना पक्राउ

131

वीरगन्ज ।। वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरिएको लाखौँ रुपैयाँसहित भारत बिहार मोतीहारी जिल्लामा तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैया तथा चोरीमा प्रयोग गरिने विभिन्न उपकरणसहित एक महिला र दुई पुरुष गरी तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सविता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताएका छन्। उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैया एकथान घरेलु हतियार नलकटुवा,दुई थान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुईथान थान मोबाइल, ड्रिल मेसिन, सिसिटिभी क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए ।

केही दिन अघि भारतीय बजार ढाकामा दुई वटा पसलमा लुटेको सामान मध्येको सीसी टीभी क्यामरा रहेको प्रहरीले जनाएको छ। साथै पक्राउ परेकाहरूले नबील बैंक बीरगंज शाखाको लुटमा संलग्न रहेको र केही दिन अघि एकजना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एसपी मिश्रले न्युज कारखानासँग भएको कुराकानीमा बताएका छन् ।

पक्राउ परेका तीनै जना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ। आरोपीहरू पक्राउ परेपछि एकजना बीरगंजका नेपाली सुरक्षा अधिकारीलाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सीसी टीभी फुटेजबाट समेत पुष्टि गरिएको एसपी मिश्रले जानकारी दिएका छन् ।

नबिल बैंक बीरगंजमा चोरीको घटना पछि अपराधीहरू भारतीय क्षेत्रमा आउन सक्ने अनुमानको आधारमा एसपी मिश्रले तीन जना डीएसपीको कमाण्डमा छुट्टाछुट्टै तीनवटा टोली परिचालन गरेको मोतीहारी क्राईम ब्राञ्चका सई मनिष कुमारले बताएका छन् ।

टोलीले विशेष सूचनाको आधारमा दरपा थाना क्षेत्र तिनकोनी गाउँको एक घरमा छापा मारी गरेर मन्टु र अर्जुन पक्राउ गरी उनीहरूको साथबाट १७ लाख ८२ हजार २०० रुपैया बरामद गरेको थियो। उनीहरूकै बयानको आधारमा भारतीय प्रहरीले ९५ हजार रुपैयाँ र हतियारसहित सवितालाई नियन्त्रणमा पक्राउ गर्न सफल भएको सई मनिष कुमारले जनाएका छन ।
बैंकको चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले रौतहटको साविक पथरा बुधराम हाल मौलापुर नगरपालिका ८ का सञ्जय जयसवाल, छोटेलाल जयसवाललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गत आइतबार राती ५ देखि ६ जना चोरहरूको समूहले बैंकको मूल गेटको ताल्चा फुटाएर एक सय, ५० र बीस रुपैयाँ दरको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी लागेको पर्सा प्रहरीले जनाएको छ। चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।