बैँकहरु बन्द नहुने

1499

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुक्रबार गरेको सम्बोधनअनुसारका कामलाई कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्को उच्चस्तरीय समितिले मानिसहरुको आवागमनबाटै कोरोना भाइरस सर्ने डर हुने भएकाले लामो दूरीको सवारी साधन र हवाई सेवा रोक्ने निर्णय गरेको स्पष्ट पारेको छ।

समितिको बैठकबाट बाहिरिँदै अर्थमन्त्री तथा सरकारका प्रवक्ता गोकर्ण खतिवडाले आपूर्ति व्यवस्था र ढुवानीलाई यसले कुनै असर नपुर्‍याउने जानकारी पनि दिए। उनले बैँकहरु बन्द नहुने जानकारी पनि गराए।

उनले अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिसकेको अवस्थामा केही व्यक्ति मार्गस्थ भएको उल्लेख गर्दै उनीहरुलाई स्थानीय दूतावासको सहयोगमा सुरक्षित ढंगले उद्धार गरेर क्वारेन्टाइनमा राख्ने जानकारी दिए। अत्यावश्यकबाहेक सार्वजनिक सेवाहरु निरुत्साहित गर्ने र मानिसहरुको जमघट रोक्ने पनि उनले जानकारी दिए।

उनले भने, ‘आवतजावतले संक्रमण नबढोस् भनेरै लामो दूरीको सवारी साधन बन्द गरेका हौँ। केही दिनका लागि हामी जहाँ छौँ त्यहीँ सुरक्षित ढ‌ंगले बसौँ।’सभार देश सञ्चार