बलिउड उद्योगका दुई चर्चित नाम हुन् करिना कपुर र शाहिद कपुर। कुनै यस्तो दिन थियो, जतिबेला सहिद र करिनालाई नजिकबाट नियाल्नेहरूको भिड लाग्थ्यो।
किनकि उनीहरू एक अर्काको प्रेममा थिए। उनीहरू केही समय प्रेमिल जोडीको रूपमा रहेको विभिन्न सञ्चारमाध्यमहरूमा आज पनि पढ्न पाइन्छ।
तर, यी दुईको प्रेम सम्बन्धले दीर्घरूप लिन सकेन। उनीहरूको सम्बन्ध किन लामो समय रहन सकेन भनेर धेरै अन्तर्वार्तामा प्रश्न गरिए। तर, दुवैजना मौनप्रायः रहे।
तथापि, करिनाले दिएको एक अन्तर्वार्ताले उनीहरूको सम्बन्धबारे धोरथोर जवाफ दिएको छ।
अन्तर्वार्तामा करिनाले आफ्नो जीवन अनि सम्बन्धबारे खुलेर बोलेकी छन्, ‘भाग्यको पनि आ-आफ्नै योजना हुन्छ र जीन्दगी त्यही हिसाबमा चल्छ। फिल्म ‘जब वी मेट’को छायाङ्कनदेखि फिल्म ‘टशन’को छायांकनसम्ममा हामी बीच जे-जे भयो। त्यसपछि हामीले आ-आफ्नो बाटो तय गर्यौं।’
फिल्म ‘जब वी मेट’मा करिनाले निर्वाह गरेको पात्र ‘गीत’ र आफ्नो वास्तविक जीवन उस्तै-उस्तै रहेको उल्लेख गर्दै उनले भनेकी छन्,‘त्यो समय मेरा लागि व्यक्तिगत र पेसागत जीवन व्यवस्थापन गर्न धेरै गाह्रो भएको थियो।’
‘फिल्मको पहिलो हाफमा गीत पात्रको जीवन जस्तो थियो दोस्रो हाफमा बद्लिएको छ। त्यसैगरी मेरो जीवन पनि बद्लिरहेको थियो, फिल्मको कथा बद्लिएझैं,’ करिनाले थपेकी छन्, ‘जब वी मेट’को छायाङ्कनपछि फिल्म ‘टशन’मा काम भयो। उक्त फिल्मले मेरो जीवन पुनः परिवर्तन गरिदियो। कारण, सोही सफिल्ममा काम गर्दैगर्दा मेरो जीवन साथी सैफ अलि खानको साथ पाएँ।’
अन्तर्वार्तामा करिनाले शाहिदको तारिफसमेत गरेकी छन्,‘शाहिदले नै मलाई फिल्म जब वी मेटमा काम गर्न सुझाएको थियो। फिल्ममा शाहिद पहिले नै अनुबन्धित थियो। पछि उसैले फिल्मको स्क्रिप्ट पढ्न आग्रह गरेको थियो।’
‘शाहिदले नै सम्झाएको थियो कि, फिल्मको कथा शानदार छ। कथाकी पात्र झनै सानदार छे। सोही कुराले फिल्ममा हाम्रो सहकार्य भयो र फिल्मभरि हाम्रो साथ सहयोग उत्कृष्ट बन्यो। जसको प्रतिफल शाहिद र मेरो जीवनकै उत्कृष्ट फिल्म ‘जब वे मेट’ बन्यो,’ उनले शाहिदसँग विताएका प्रेमिल दिनहरू घुमाउरो शैलीमा सम्झिइन्।