काठमाडौं – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शनिबार) देखि दशौं राउन्ड शुरु हुँदैछ । दशौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ ।
शीर्षस्थानमा एक अंकले पछि रहेको मछिन्द्र एपिएफलाई पराजित गर्दै शीर्षस्थानमा उक्लदै उपाधि दावेदारितालाई बलियो बनाउन चाहन्छ । एपिएफ रेलिगसन जोन छाड्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । मछिन्द्रलाई शीर्ष स्थानमा उक्लन तथा एपिएफलाई रेलिगेसन जोन छाड्ने दवाव छ । दुवै टोली यो दवावलाई मुक्त पार्दै ३ अंकको खोजीमा मैदानमा उत्रनेछन् ।
अन्तिम खेलमा थ्री स्टारलाई २–० ले पराजित गरेको मछिन्द्र सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । केही स्टार खेलाडीले क्लब छाड्नु र केही खेलाडी चोटसँग जुध्नु मछिन्द्रलाई समस्या हुन सक्नेछ । लिगमा १९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ ।
यता, एपीएफ पनि मछिन्द्रलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट बच्न चाहन्छ । मछिन्द्रका केही खेलाडी चोटसँग जुधिरहेको र केही खेलाडी टोलीमा नरहेको फाइदा एपिएफ उठाउन चहान्छ । ५ अंक जोडेको एपीएफ पुछारबाट तालिकाको दोस्रो स्थानमा रहेको छ ।
त्यसअघि मध्यान्ह १२ बजे थ्री स्टार र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ । उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार सरस्वतीलाई हराउँदै शीर्ष ६ को यात्रा सहज बनाउने दाउमा हुनेछ । पाँचौ स्थानमा रहेको थ्री स्टारको १४ अंक छ ।
सरस्वती ४ अंकसहित पुछारमा छ । यता, सरस्वती पनि थ्री स्टारलाई हराउँदै रेलिगेसन क्षेत्रबाट माथि उक्लिन चाहन्छ । सरस्वती लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।(हाम्रो खेलकुद)